धरान : परम्परागत रूपमा लिम्बु समुदायले साउने संक्रान्तीलाई सिसेक्वा तङनामको रूपमा मनाउँदै आएका छन् । 
पछिल्लो समय किरात याक्थुङ चुम्लुङद्वारा सामूहिक रूपमा मनाउन थालिएको सिसेक्पा तङनाम धरानमा यसपाली धान नाचेर मनाइएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रवार आयोजित कार्यक्रममा सहभागीहरूले धान नाचेर तङनाम सुरु गरेका थिए भने समापन अघि पनि धान नाचको लहर चलेको थियो । 
लिम्बु इतिहासका अनुसन्धाता डा.कमल तिगेलाले सिसेक्वा तङनामको सुरुआत लिम्बु जाति कृषि युगमा प्रवेश गरिसकेपछि भएको बताए । उनका अनुसार अन्न बाली नपाकेको बेला यक्वा तङनाममा बारीमा रोपेका मकै, बोडी, आलु, फलफूल, लगायत खानेकुरा खाएर जीवन धानेको कथासँग सिसेक्पा तङनाम जोडिएको छ ।
उनका अनुसार कृषि जीवनमा झार जङ्गल हिलोमा काम गर्दा जीउमा आउने चिलाउन खटिरा निको होस, अनिकाल जाओस्, सहकाल आओस् भनेर थान नाङ्ले ठटाएर खेदाउने चलन त्यसै बेला देखी सुरु भएको हो । सोही अनुसार आज सम्पन्न कार्यक्रमको अन्त अगुल्टो बाले नाङ्लो थाल बजाऊँ चुम्लुङ हिमको कोठा कुनाबाट रोगव्याधी, अनिकाल खेदाउने परम्परा निर्वाह गरिएको थियो ।
प्रमुख अतिथि चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.योगेन्द्र पालुङवाले पछिल्लो समय धरानमा लिम्बुवानको राजधानी विजयपुरमा लिम्बु जातिको चिहान भत्काएको घटनाले बढेको विवाद छलफल, वार्ताबाट समाधान गरिनु पर्ने बताए ।
केन्द्रीय सचिव सङ्गीता सुब्बाले सांस्कृतिक चेतना नयाँ पुस्तामा हस्तान्तरण गर्न हाम्रा परम्परागत पर्वहरू सामूहिक रूपमा मनाउने चलनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका बताइन् ।
विजयपुर संरक्षण समितिका अध्यक्ष सुवासचन्द्र हुक्पाचोङबाङले विजयपुरको बारेमा उत्पन्न विवाद वार्ता संवादबाट समाधान गर्न समितिको प्रयास रहेको बताए । चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ललिता नेम्वाङले स्वागत भाषण गरेकी थिइन् ।