धरान :  धरानमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको आशङ्का सगैं लकडाउन तथा थप तयारीकालागी ११ बजे सर्वदलीय बैठक बस्ने मेयर तिलक राईले बताए ।

धरान उपमहानगरपालिकामा हिजो पनि कोभिड-१९ रोकथाम नियन्त्रण र उपचार सम्बन्धी धरानका सुरक्षा प्रमुखहरू, इलाका प्रशासन कार्यालयका प्रमुख र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको सुरक्षा बैठकले धरानमा उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो ।

बैठकले धरान प्रवेश गर्ने तीनकुने नाकामा मास्क वितरण गर्ने र अनिवार्य इन्ट्री गराउने, धरान बजार क्षेत्रमा सामाजिक दुरी कायम गराउने, सर्वसाधारणलाई अनिवार्य मास्क प्रयोग गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले प्रचार प्रसार गरी सचेतना फैलाउने पनि निर्णय गरेको थियो ।

हिजो बसेको बैठकले गरेको निर्णयले मात्रै नपुग्ने भए पछि आज फेरी सिडिओ, जिल्ला प्रहरी प्रमुख सहितको सर्वदलीय बैठक बस्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।

आज बस्ने सर्वदलीय बैठकले धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमण समुदाय स्तर सम्म फैलिएको आशङ्का गरिएकोले फेरि धरान उपमहानगरपालिका क्षेत्रमा लकडाउन समेत हुन सक्ने मेयर राईले बताए ।

धरान १३ मा ट्राभल हिस्ट्री नभएका एक युवामा कोरोना सङ्क्रमण भए सँगै धरानमा पनि समुदाय स्तरमै कोरोना सङ्क्रमण भइसकेको हुनसक्ने भन्दै यस विषयमा सर्वदलीय बैठकले निर्णय गर्ने बताइएको छ ।