धरान : इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि इटहरी उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाही पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको बताइएको छ ।

इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय भएको छ ।

इटहरीमा कोरोना सङ्क्रमणको जोखिम उच्च भएकोले बैठकले अरू महत्त्वपूर्ण विषयमा पनि निर्णय गरेको र सो निर्णय आधिकारिकरुपमा भने सार्वजनिक गरिएको छैन ।