धरान : धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिन थालेको भन्दै धरान उपमहानगरपालिकाले लकडाउन थप एक हप्ता थप्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाको अहिले जारी कार्यपालिका बैठकले धरानको लकडाउन आउँदो भदौ ३ गते सम्म जारी राख्ने निर्णय भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए ।

यसै गरी धरान उपमहानगरपालिका भित्रै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई बेड अभावको कारण भर्ना गर्न समन्वय नगरेको भन्दै धरान उपमहानगरपालिका आफैले २३ बेडको कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि गरेको छ । हरियाली सामुदायिक वनको आवास गृहमा २३ बेड क्षमताको आइसोलेसन सञ्चालन गर्ने निर्णय भएको छ ।

यसै गरी ‘धरानबाहिरबाट दूध, तरकारी आउन नदिने तर धरानभित्रको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको छ । धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दूध, सब्जीमा सहजीकरण गर्ने तर दोकान खोल्न पाइनेछैन । धरान भित्र उत्पादन हुने सागसब्जी र दुग्ध जन्य बस्तुमा सहजीकरण गरेर नगरबासीलाई सहज वातावरण बनाउने निर्णय भएको छ ।