धरान : पूर्वका चर्चित व्यवसायी भोलेश्वर दुलालले लकडाउन समाधान नभएकाले यसको प्रतिकार गर्न आव्हान गरेका छन् ।

पिएलओ ग्रुपमा सञ्चालक एवम् नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष समेत भइसकेका पूर्वका सफल व्यवसायी दुलालले फेसबुकमा लामाे बिचार लेख्दै लकडाउन एक मात्र समाधान नभएकाले बेलैमा सोचेर यसको प्रतिकार गर्न आव्हान गरेका हुन् ।

कोरोनालाई आतङ्क बनाएर माफिया जगतले संसार लुट्दै छ, यो विश्व शक्ति सङ्घर्षको राजनीतिक एजेन्डा बनिसकेको छ । अनुशासित र नैतिक जीवन नै रोगको सर्वोत्तम उपचार भएकाले जीवन पद्धति सुधार गर्दै र अपराधी माफियाहरूको लुटबाट आफू पनि बच्न र अरू लाई पनि बचाउन उनले आव्हान गरेका छन् ।

उनको बिचारको सम्पादित अंश

कोरोनाको आतङ्क फैलिएपछि अरू रोगबाट मर्नेहरूको सूची गायब भएको छ। संसारमा बर्सेनि मर्ने सङ्ख्या ७ करोड भन्दा माथि छ। कुनै मानिस जुनसुकै रोगले मरेको भए पनि त्यसलाई कोरोना भनेर प्रचार गर्न थालिएको छ। जसले संसारभर आतङ्क फैल्याएको छ।

अस्वस्थ मानिसको रगत पोजेटिभ नै हुन्छ तर अब रगत पोजेटिभ देखियो भने त्यसलाई सिधै कोरोनाको प्रमाणपत्र दिन थालिएको छ। कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन भने अहिले चलिरहेको उपचारबाट मानिस निको कसरी भएको छ रु जबकि १ करोड ७७ लाख उपचार बेगर निको भएका छन् कोरोना भयानक भाइरस हो भने विश्वमा मर्नेहरूको अनुपात सयकडा २५ भन्दा कम किन छ रु त्यसैले ले यो महामारी होइन ।

कोरोना जस्तै अन्य रुघाखोकीहरूको कारणले वर्षेनि लाखौँ मानिसहरू मर्दै आएका थिए तर ती कसैको चर्चा हुँदैनथ्यो तर कोभिड-१९ नाम दिइएको यो भाइरसलाई किन आतङ्कको रूप दिइयो ? यसको एक मात्र कारण हो- भाइरस नयाँ हुनु र यो नयाँ भाइरस नियन्त्रण गर्ने औषधि नहुनु। भाइरस नयाँ हुनु र त्यसको औषधि पत्ता लगाउन समय लाग्नुको कारणले औषधि पत्ता नलाग्दै दुनियाँलाई लुटेर भ्याउने योजना अन्तर्गत माफिया जगतले यसलाई अवसर को रूपमा लिएर प्रचार गरिरहेको छ र आफूले उत्पादन गरेका सामानहरू मानिसहरूका हातमा भिडाइरहेको छ।

नेपालमा कोरोना जाँच नगरेका मानिसहरूलाई आवागमन गर्न रोक लगाएको छ। एउटा जाँचको मूल्य ५ हजार देखि १२ हजार रुपैयाँसम्म लिइएको छ। जबकि यो उपचार होइन, जाँच मात्र हो। जाँचमा सबै बिरामीको रगत पोजेटिभ देखाएर माफिया जगतले आफ्नो सामान किन्न विवश बनाइरहेको मात्र छैन कि स्यानिटाइजर जस्ता क्यान्सर उत्पादन गर्ने सामानहरूको प्रयोगमा बाढी ल्याएर अर्को खतरनाक रोग उत्पादन गरी राखेको छ ।

१०० नानाे मिटर भन्दा सानो भाइरस कसरी मास्कले छेकिन्छ नयाँ रोगमा झन् ठुलो खर्चको बोझ लादेर मानिसहरूको सम्पत्ति लुटेर स्वाहा पार्ने चक्रव्यूह बनाएर सङ्गठित रूपमा अघि बढेको छ।

कुनै पनि रोगसँग सावधान हुनुपर्छ भन्ने कुरामा विवाद छैन तर यस्तो सावधानी मानिसको अनुशासन, जीवन पद्धति र नैतिकताले विकास गर्ने हो। भाइरस सङ्क्रमणबाट सावधानी अपनाए पुग्छ। जसरी अन्य रुघाखोकी लाग्दैमा मानिस मर्दैन, त्यसैगरी कोरोना सङ्क्रमण हुँदैमा पनि मानिस मर्दैन। भाइरस वा जीवाणुहरूको आक्रमणको प्रतिरोध गर्ने क्षमता गुमेको मानिस मात्र रोगले मर्छ, जो सबै रोगमा हुँदै आएको छ।

यति बेला कोरोनाको आतङ्क खडा गरेर र उपचारका नाममा घातक चिजहरू प्रयोग गर्न लगाएर माफिया जगतले नयाँ रोगहरू उत्पन्न गराइरहेको छ। कोरोनाको त्रासले निस्केको सबैभन्दा ठुलो समस्या डिप्रेसन हो। मानिसहरूलाई डिप्रेसनमा पुर्‍याएर अपराधी वर्गले त्यसको उपचारको नाममा अरबौँ रकम लुटिरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार यो लकडाउन मा मात्र नेपालमा ३१ सयले आत्महत्या गरीसकेका छन् ।

मास्क ,स्यानिटाइजर, जस्ता चिजहरूलाई अचुक औषधिका रूपमा व्याख्या गरेर क्यान्सर बढाइरहेको छ र त्यसबाट खरबौँ लुटिरहेको छ। मानिसहरूका बिचमा घृणा र नफरतको भावना बढाइएको छ। कोरोनाको आतङ्कका पछाडि पनि ठुलो यस्तै षडयन्त्र छ। यो वर्तमान समयको विश्व राजनीतिक लडाइँ र लुटको चक्रव्यूह हो। यसलाई ठिक ढङ्गले बुझौँ र त्यही अनुसारको व्यवहार गरौँ।बन्द लकडाउन हटाऊँ आजै बाट जागौँ ।