विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर-१९ मा निर्माण भइरहेको बैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अनुगमन गरेका छन् ।

उनले निर्माणाधीन रङ्गशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी समेत लिएका छन्। रङ्गशालामा अहिले मल्टी पेभेलियन, अन्डरग्राउन्ड पानी सप्लाई, ग्राउन्ड लेभलसङको तयारी भइरहेको छ।

प्रदेश सरकारले रङ्गशालाकालागि चालु आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारका काम सुरु गर्ने तयारी भइरहेको प्रदेश क्रिकेट सङ्घका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष नवीन घिमिरेले जानकारी दिए । उनले भोलिदेखि इन्जिनियरिङ स्टिमेटको काम सुरु हुने बताए ।

रङ्गशालाको अनुगमन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले खेलमैदानमा काम सुरु भएको मितिले ३ महिना भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।

रङ्गशालाको अनुगमनमा क्षेत्रीय खेलकुद विकास समिति, मोरङ खेलकुद विकास समिति, प्रदेश क्रिकेट सङ्घ, मोरङ क्रिकेट सङ्घका पदाधिकारीहरुपनि उपस्थिति रहेको थियो ।