धरान : एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही असोज १० गते देखि १२ गते सम्म तिन दिनको हुने आयोजक मितेरी फुटसल र सिंगापुर लिफ टिमले एमसि क्याफे वुद्ध चौकमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

मितेरी फुटसलले यस अघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भए पनि यस पटक देखि वृहत् कार्यक्रमको आयोजना सुरुवात गरिएको मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी बताए ।

प्रतियोगिताको उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा धरान, इटहरी , काठमाडौँ, पोखरा, चितवन, मोरङ, झापा, धनकुटाबाट करिब ३० टिमले सहभागिता जनाउनेछ ।

प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको पेट्रोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरू गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरूको पहलमा १७ न.ं वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ बिजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गराए ।

आयोजक मितेरी फुटसल २०७५ सालमा स्थापना भएको हो । फुटसल सँगै इनडोर ब्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल बन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्ने गरी मितेरी फुटसलको यस सँगै अन्य धेरै खेलकुद अन्तर्गत व्यवसायीक योजनाहरू समेत रहेको सञ्चालक राईले जानकारी दिए ।

त्यस्तै गरी अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुर वाट छुट्टीमा नेपाल आएका धरानका सिंगापुर पुलिस टिम हुन । छुट्टीमा आएका समूहले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको हुने भएकोले छुट्टीमा आएको वेला च्यारिटेवल प्रतियोगिताको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्बुले बताए ।

प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचार प्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी टिम र पूर्व सिंगापुर पुलिस टिम बिच असोज ८ गते मैत्रीपूर्ण फुटसल खेलिने आयोजकले जानकारी दिएको छ ।

अनुमानित १५ लाख रुपैयाँको बजेट रहेको प्रतियोगिताको असोज ९ गते बिहान खेल तालिका तयार गरिने र १० गते बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सहित प्रतियोगिता उद्घाटन हुनेछ ।

Footshal-Press-Meet