धरान : नेपाली दुई वटा रियालिटी शो ‘मेरो डान्स कप युएसए-४’ र मेरो भ्वाईस कप युएसए–२’को उद्घाटन भएको छ ।

अमेरिकाबाट सञ्चालित यो दुवै रियालिटी शोको झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिविरमा शनिवार सँयुक्तरुपमा उद्घाटन गरिएको छ । यो दुवै रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने छ । दुवै रियालिटी शोको फारम पनि खुला गरिएको छ ।

‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाईस कप युएसए-२’को प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोद खरेल, नृत्य निर्देशक शंकर बिसी, नरमान राई लगायतले सामूहिक उद्घाटन गरेका हुन् ।

दुवै रियालिटी शोको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली भाषा संस्कृतिलाई जगेर्ना गर्दै अमेरिका र क्यानडामा रहेका नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषा तर्फ आकर्षण गर्न आयोजना गरिएको यो दुई वटा कार्यक्रम प्रशंसा योग्य रहेको बताए ।

नेपालीहरू जहाँ भए पनि आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु पर्नेमा उनले जोड दिए । नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनको बारेमा आफूले केन्द्रीय सरकारसँग वार्ता गरेर परिणाम निकाल्न तर्फ लाग्ने पनि मुख्यमन्त्री राईले बचन दिए । सोही क्रममा मन्त्री राईले बेलडाँगी शिविरमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले खोजेका ज्येष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गरे ।

शनिवारको सो उद्घाटन समारोहमा काठमाडौँबाट झापा पुगेका तीन दर्जन भन्दा बढी कलाकारले आफ्ना कला प्रस्तुत गरे । अग्रज गायक प्रेमराजा महतले बाँझो खेतमा र पानको पात जस्ता गीत प्रस्तुत गर्दा उनको गीतमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अभिनेता अभिनेत्री, गायक गायिका लगायतका अतिथि छमछमी नाचेका थिए । मुख्य मन्त्री नै नाचेपछि हुटिङ गर्दै दर्शकहरू झनै नाचेका थिए ।

आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीका अनुसार अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूले अमेरिका र क्यानडामा रहेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृति प्रति आकर्षण गर्न नृत्य र गायन सम्बन्धी दुई वटा रियालिटी शो आयोजना गर्दै आएको छ ।

‘हामी भुटानी भए पनि नेपाली भाषी भएका कारण हाम्रो पुस्ताले अब नेपाली भाषा नै बोलुन् र नेपाली संस्कृतिमै रमाउन् भनेर यो दुई वटा रियालिटी शो आयोजना गरिएको हो ।’ अधिकारीले भने,‘अमेरिका र क्यानडामा भए पनि हामी हाम्रा बालबालिकासँग घर तथा आफ्नो कार्यालयमा नेपाली भाषा नै बोल्छौँ ।

हामीसँग नेपाली नागरिकता नभए पनि यो हाम्रो पहिचान भएकाले नेपाली भाषा संस्कृतिको जगेर्नाका लागि यो प्रतियोगितालाई महत्त्वको साथ हामीले आयोजना गर्दै आएका हौँ अध्यक्ष अधिकारीले भने । आफूले शरणार्थी भएर विगतमा भोगेका पीडा पनि उनले सो क्रममा पोखे ।

झापामा रहेका नेपाली भाषी भुटानी शरणार्थीलाई या त नेपाली नागरिकता दिनु पर्ने या त तेस्रो मुलुक पुनर्वासका लागि नेपाल सरकारले सहयोग गर्नु पर्ने पनि उनले बताए । भुटान फर्कन चाहनेहरूलाई आफ्नो देश फर्कन व्यवस्थापन गर्न पनि उनले सरकारसँग सो कार्यक्रममा माग गरे ।

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले चार वर्ष अघिबाट मेरो डान्स कप युएसए र दुई वर्षबाट मेरो भ्वाईस कप युएसए सञ्चालन गर्दै आएको पनि उनले बताए । प्रतियोगितालाई विश्वव्यापी रूपमा फैल्याउँदै अमेरिका र क्यानडामा रहेको नेपाली तथा नेपाली भाषीहरूलाई सहभागी गराउन यस पटक नेपालमा यसको उद्घाटन कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रममा बताए ।

शनिवार करिब १० घण्टा चलेको सांस्कृतिक कार्यक्रममा मेरो डान्स कप युएसएका निर्णायक दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी र नरमान राईले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरे ।

नृत्य कलाकार दीपाशा बिसी, करिश्मा ढकाल, निक शर्मा, ऋचा थापाले पनि विभिन्न गीतमा कार्यक्रममा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाए । कलाकार सन्दीप क्षत्रीको प्रहसन पनि आकर्षक थियो ।

दिउँसो ११ बजेबाट सुरु भएको कन्सर्ट साँझ ८ बजेसम्म चलेको थियो । भ्वाईस अफ नेपालका निर्णायक एवम् गायक प्रमोद खरेलले बेलुका साँझ ढल्दै गर्दा म बिना कसै कसैलाई मुस्किल छ सहित आधा दर्जन गीत गाउँदा सबै नाचेका थिए ।

कार्यक्रममा गायक गायिकाहरू सिडी विजय अधिकारी, रचना रिमाल, रबी गहतराज, करणराज कार्की, सञ्जु मोक्तान, निशान भट्टराई, अरिफ शाह, अस्मिता अधिकारी, प्रवीण बेडवाल, नेहा उप्रेती लगायतले पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए ।

कार्यक्रममा कीर्तिपुर ग्रुप, धरान ग्रुप, दमक ग्रुप, बेलडाँगी ग्रुप, पथरी ग्रुपका कलाकारहरूले पनि विभिन्न लोक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए । यी कलाकारको नृत्य एवम् गायन हेर्नका लागि हजारौँको सङ्ख्यामा दर्शकहरू बेलडाँगी शिविरमा सहभागी भएका थिए ।

कार्यक्रमलाई राजेश घतानी, सुशील नेपाल सहितका कलाकारले सञ्चालन गरेका थिए । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी प्रस्तुतिसँगै बेलुका ८ बजेपछि सो उद्घाटन कार्यक्रम सकिएको थियो ।