धरान : वडाका युवाहरूमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ धरान १४ मा मंगलबार देखि दोस्रो वडाध्यक्ष रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विजयपुर स्कुलको खेल मैदानमा भएको उद्घाटन खेलमा पिण्डेश्वर टोलले नयाँ टोललाई सुन्यको विरुद्ध ४ गोल गर्दै विजयी भएको छ । खेलको पुर्वाद्धमा सविर तामाङले पिण्डेश्वर टोलबाट पहिलो गोल गरी आफ्नो समूहलाई सुन्यको विरुद्ध १ गोल गरी अग्रता दिलाउन सफल भएका थिए ।

मध्यान्तर पछि पुन : पिण्डेश्वर टोलबाट सविर तामाङले थप १ गोल गरे भने पिण्डेश्वर टोलका निलेश तामाङ र अङ्कित खडकाले थप १-१ गोल गरी आफ्नो समूहलाई सुन्यको विरुद्ध ४ गोलले विजयी बनाउन सफल भए । खेलको म्यानअफ द म्याच पिण्डेश्वर टोलका सविर तामाङ घोषित भए । उनले नगद ३१ सय रुपैयाँ र ट्रफि प्राप्त गरे ।

प्रतियोगितामा धरान १४ का ७ वटा टिम नारायणपुर टोल, गैरी गाउँ टोल, नयाँ टोल, स्कुल टोल, पिण्डेश्वर टोल, हात्तीसार टोल र गणेश चौकको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि पाउने छन् ।

Foot-ball-2

वडाको युवाहरूलाई अनुशासन, खेल क्षेत्रको विकास र शारीरिक स्वास्थ्यको लागि वडाध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

प्रतियोगिताको उद्घाटन वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले एक समारोहका बिच गरेका थिए । १४ नम्बर वडाको आयोजना र विजयपुर खेलकुद समितिको संयोजनमा सो प्रतियोगिता भइरहेको हो । बुधवार हुने दोस्रो खेल नारायणपुर टोल र स्कुल टोल बिच हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा १४ नम्बर वडाका टोल विकास समितिका पदाधिकारीहरू, वडाका बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । 

Foot-ball-1