धरान: राजनीतिककर्मी तथा औजार दैनिकका अध्यक्ष मोतिराज सुनुवारको लोक भाका शैलीमा गाइएको बाटोमा भेट भयो बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।

बिहिबार १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले ल्यापटपमा क्लिक गर्दै भिडियो रिलिज गरेका थिए । सभामुख भण्डारीले गायक सुनुवारलाई बधाइ दिदै बहुप्रतिभाशाली व्यक्तित्व भएको पनि बताए । सुनुवार आफ्नो राजनीतिक अगुवा पनि भएको उल्लेख गर्दै सभामुख भण्डारीले अहिले कलाकारकोरुपमा उदय हुँदा आफु अचम्मित र खुशी भएको पनि बताए ।

उनले धरानमा थिएटर हल बनाउन आवश्यक भएको र यसमा स्थानीयसँगै प्रदेश सरकारले पनि चासो देखाउनुपर्ने बताए । हाल प्रदेश सरकारले चलचित्र महोत्सव गर्न लागेको र यो प्रदेश १ का कलाकारहरुसँग मिलेर आयोजना हुने पनि बताए । कार्यक्रममा विशिष्ट अतिथि तथा प्रदेश सांसद सावित्रि जोशी श्रेष्ठ, सांसद विना राई, चलचित्र निर्देशक अरुण प्रधान, म्युजिक भिडियाको निर्देशक नगेन्द्र राईले पनि मन्तव्य राखेका थिए ।

moti3

सुनुवारको यो दोस्रो गीत हो । यसअघि उनले सुनमाया बोलको गीत गाएका थिए । गायिका अम्बिका दवाडीले साथ दिएको उक्त गीतको पनि उनले म्युजिक भिडियो तयार गरेर सार्वजनिक गरिसकेका छन् । दोस्रो गीतमा भने उनलाई गोमा कुलुङले साथ दिएकी छिन् । यस्तै, कोरसमा गायिका प्रिया लामा, बिनु राई, पुरुष स्वरमा रणध्वज लोहार र दिपेश राईले पनि साथ दिएका थिए ।

म्युजिक भिडियोमा गायक सुनुवारसँगै सविना भट्टरार्इको मुख्य भुमिका छ । यस्तै, मणि राई र दिपिका सुनुवार (लिम्बु)ले नृत्य गरेका छन् । म्युजिक भिडियो निर्देशन नगेन्द्र राईले गरेका छन् भने गीत एरेञ्ज मनोज मोतेले गरेका छन् । भिडियोको निर्मात्रा गायकका पत्नी राधिका सुनुवार छन् । सबैको साथ, सहयोग र हौसलाले आफुले गीत गाउन र म्युजिक भिडियो तयार गर्न सम्भव भएको गायक सुनुवारले बताए ।

moti-s