धरान: धरानबाट प्रकाशन हुदै आइरहेको साहित्यिक पत्रिका गुफाथुम्की गर्जनले नेपाल सम्बत ११४० नयाँ वर्षको अवसरमा कविता तथा लघुकथा बिमर्श कार्यक्रम आयोजना गरेको छ ।

प्रबोध साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादकसमेत रहेका लम्जेल संघर्षशिल र जमुना श्रेष्ठले आज शनिबार वेलकम होटलमा आयोजना गरेको कार्यक्रममा पाँच जना स्रष्टाको कविता र लघुकथा वाचन गरेर विमर्शसमेत भएको थियो । विमर्श कार्यक्रममा इटहरीका लता कार्कीले कामरेड झुमा, बयान, धुवाँ, रातो धर्तीसहित ५ वटा कविता वाचन गरेका थिइन् । उनको कवितामा प्राध्यापक डा. भीम खतिवडाले टिप्पणी गरेका थिए।अर्का सर्जक गणेश कुमारी राईले नयाँ वर्ष, महिला तिमी, मन बिचलित हुँदा, हिमाल झै बाँच्न चाहने मान्छे शिर्षकमा कविता वाचन गरेकी थिइन् । उनको कवितामा कवि बम देवानले टिप्पणी गरेका थिए।

कार्यक्रममा लघु कथाकार शंकर सुनुवारले पाँच वटा लघु लथा सुनाएका थिए । उनको लघुकथामा डा. खेम शर्माले टिप्पणी गरेका थिए । यस्तै, भोजपुरका हर्कराज चर्मकारले पनि पाँच वटा कविता वाचन गरेका थिए । उनको कवितामा प्राध्यापक डा. भोलानाथ पोखरेलले टिप्पणी गरेका थिए। यस्तै, निमा पोङ्स्युवाले पनि आफ्ना पाँच कविता वाचन गरेका थिए । उनका कवितामा प्राध्यापक हरिप्रसाद दाहालले टिप्पणी गरेका थिए। कार्यक्रममा कमल चेम्जोङले गजल वाचन गरेका थिए भने प्रफुल्ल भन्डारीले महिला र पुरुषको स्वरमा तिहार गीत गाएका थिए । नेपाल सम्बतबारे नेवाः देयः दबु धरानका नगर अध्यक्ष मनोहर शाक्यले प्रकाश पारेका थिए। कार्यक्रम भाषाविद प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।