धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको रेडक्रसको रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा विभिन्न समुहको रगतको अभाव भएको छ ।

ब्लड बैंंकबाट आवश्यक रगत तत्काल नपाउदा कतिपय गम्भीर प्रकृतिका विरामीहरुको उपचार प्रभावित हुने अवस्था छ । ब्लड बैंकमा रगत नपाउदा विरामीका आफन्तहरु आवश्यक रगत समुह भएका मान्छेहरुको खोजी गर्न भौतारिनु परिरहेको छ । प्रतिष्ठान पुर्वका विभिन्न जिल्लाबाट विरामी सिफारिश भएर आउने अस्पताल हो । यहाँ दुर्घटना र गम्भीर प्रकृतिको विरामीहरु उपचारको लागि आउछन् । उनीहरुलाई रगत आवश्यक पर्दा धेरैै समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

केन्द्रका इन्चार्ज सुवासचन्द्र सिंहका अनुसार चाडपर्वको कारण बर्षेनी यो समयमा रक्तदान कार्यक्रमहरु नहुने भएकोले अस्पतालमा रगत अभाव हुने गर्छ । तिहार पछि केही संघसंस्थाले रक्तदान कार्यक्रम गरेकोले अहिले थोरै भएपनि राहत भएको उनले बताए । ‘दशैं, तिहार, छठ पर्वको बेला रक्तदान कार्यक्रमहरु हुदैन, त्यसैले यो बेला रगतको अति अभाव हुन्छ,’सिंहले भने,‘केही संस्थाले रक्तदान गरेकोले राहत त भयो, तर वि पोजेटिम ग्रुप पाउन अझैं पनि समस्या छ ।’

blood-donation

केन्द्रका अनुसार दैनिकरुपमा औसतमा ५० पिन्ट रगत खपत हुने गरेको छ । प्रतिष्ठानमा मृगौलाको डाइलाइसिस गर्न, मुटूको अप्रेशन, डेलिभरी, विभिन्न किसिमका अप्रेशन र दुर्घटनामा परी गम्भीर घाइतेहरुको उपचारमा रगत बढी खपत हुने गरेको छ । रक्तसञ्चार केन्द्रमा अहिले ओ पाजेटिम रगत सहजरुपमा पाइन्छ । तर, ए.बि.पोजेटिम, बि पोजेटिभ र ए पोजेटिभ ग्रुपको रगत अभाव हुन्छ । प्रतिष्ठानमा ब्लड डोनेशन कमिटि छ भने युथ फर ब्लड र उज्यालो समाज जस्ता संस्थाहरु पनि छन् । यी संस्थाहरुले रगत आवश्यक परेका विरामीहरुलाई रक्तसञ्चार केन्द्रमा पुगेर रगतदान गर्ने गरेका छन् ।