धरान: आगामी मंसिर १४ गतेको उपनिर्वाचनको लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टीसहित अन्य दलहरु पनि घरदैलो कार्यक्रम गर्दै मतदाताहरुलाई भेट्न दौडधुपमा ब्यस्त छन् ।

यही सिलसिलामा आज बिहिबार नेकपाका उम्मेदवार प्रकाश राई र कांग्रेसका उम्मेदवार तिलक राईबीच जम्का भेट भएको छ । आज दुवै पार्टीको घरदैलो धरानको वडा नं ६ मा थियो । सोही क्रममा यी दुई उम्मेदवारबीच जम्का भेट भएको हो । एकअर्काका प्रत्यासी उम्मेदवारले जम्काभेटमा अंकमाल गर्दै अविष्मणीय बनाए । चुनावी मैदानमा होमिएका दुई पार्टीका कार्यकर्ताहरु एकआपसमा भेटिदा तिक्ततापुर्ण व्यवहार गर्ने चलन छ ।

यसअघि पनि धरान ६ पानवारी क्षेत्रमा नै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको बेला नेकपा र कांग्रेस कार्यकर्ताहरुबीच झगडासमेत परेको थियो । आज भने चुनावी मैदानमा उत्रिएको दुई ठुला पार्टीका उम्मेदवार र कार्यकर्ताहरु भेटिदा सौहार्दपुर्ण एवं मित्रवत व्यवहार प्रर्दशन भयो ।

tilak-&-prakash1

दुई प्रत्यासी उम्मेदवारले एकअर्कालाई अंकमाल गरेको तस्बिर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरुमा छाएको छ । दुवैले अंकमाल गर्दै शुभकामना साटासाट पनि गरेका थिए । कार्यकर्ताहरुले पनि ताली पड्काएर खुशी मनाए । धरानमा मंसिर १४ मा मेयर पद र वडा नं ७ को वडाअध्यक्षको चुनाव हुदैछ । त्यसैले उम्मेदवारी घोषणा गर्दै विभिन्न दलहरु घरदैलो कार्यक्रममा मतदाताहरुलाई भेट्न ब्यस्त छन् ।