झापा: नेपालको सीमा मिचेर जवरजस्ती आफ्नो नक्सामा समावेश गर्दै बल मिच्याई गरिरहेको भारतले सिमावर्ती क्षेत्रमा गुप्तचर पठाएर सुचना संकलन गर्न थालेको छ ।

भारतविरुद्ध नेपाली जनाता आक्रोशित हुन थालेपछि भारतबाट आएका गुप्तचरहरुले नेपालीलाई पैसाको प्रलोभनमा पारेर नेपालमा हुने गतिविधि संकलन गर्न सुरु गरेको हो । उनीहरुले एनसेल नम्बरको सिम कार्ड प्रयोग गरेर हृवाट्सएप मार्फत सुचना दिन आग्रह गर्ने गरेको बिर्तामोडका एक ब्यक्तिले नाम नबताउने सर्तमा बताए । भारतीय गुप्तचरहरुले विभिन्न साइनो लगाउने, आएर भेट्ने तथा सञ्चारमाध्यममा आएका समाचार तथा यहाँ भइरहेको गतिविधि दिएमा मासिकरुपमा पैसा दिने प्रलोभन देखाउने गरेको उनको भनाई छ ।

गुप्तचरहरुले 'बिर्तामोडमा के कार्यक्रम हुन्छ ? कुन नेता आए ? ती नेताले के भने ?' यस्तो सबै जानकारी सबै हृवाट्सएपमा पठाई दिनु हामी पैसा दिन्छौं भन्दै प्रलोभनमा पार्ने गरेका छन् । विभिन्न माध्यमबाट सुचना संकलन गरिरहेका गुप्तचरहरुले पछिल्लो समय आफ्नो गतिबिधि बढाएको छ ।

मेची नदीमा पनि बीचैमा गाडियो पिलर

भारतले हालै सार्वजानिक गरेको नक्सापछि नेपाली भूमि मिचेको निकर्षमा पुगेको नेपालले अन्य स्थानमा पनि ब्यापक रुपमा सिमा मिचेको पाइएको छ । पश्चिमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्षले झापामा पनि ब्यापक रुपमा सिमा अतिक्रमण गरिरहेको छ ।

नेपालकै मेचीपारी गाउँ जान मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलको पूर्वपट्टी नदीको बीचमै सीमा पिलर गाडिएको पाइएको छ । ‘नदीको बगर छेउको खुल्ला मैदानमा हामी साना हुँदा खेल्न आउँथ्यौ’,स्थानीय युवा मिलन राईले भने,‘त्यस बेला नदीमा कुनै सीमा पिलर थिएन, अहिले त भारतीयले मेची नदीमै तीन वटा पिलर गाडी दिएको छ ।’ स्थानीयका अनुसार भारतले नेपाली भूमि मिच्दा मिच्दै अहिले बग्ने नदीसम्म ल्याई पु‍र्याएको छ । यही अवस्था रहीरहेमा नदी पारीको गाउँ पनि भारत हुन समय नलाग्ने राईले बताए । ‘देशका नेता तथा प्रशासन मौन बसेको देख्दा अच्चम लागेर आउँछ’, उनले थपे ।

मेची नदीमै ६० फिट गहराईको तीन वटा पिलर गाडिएको स्थानीय उमेश यादवले बताए । ‘चार बर्ष अघिसम्म नदीमा कुनै पनि पिलर गाडिएको थिएन, २०७५ सालको जेठमा आएर भारतीय पक्षले पिलर गाडिएको हो’, उनले भने, ‘भारतले बिस्तारै बिस्तारै नेपाली भूमि मिच्र्दैछ, यस विषयमा प्रहरी, प्रशासन मौन छ ।’ नदीको बिच भागमा १०३ नम्बर लेखिएको तीन वटा पिलर र नदी पारी एउटा पिलर गाडिएको छ । सो पिलर नदीमा बाढी आउँदा पनि नबगाउने खालको राखिएको छ ।

पहिला मेचीपारी गाउँमा एउटा पनि पिलर थिएन । अहिले जता त्यतै साना तथा ठुला पिलर गाडिएको स्थानीय बताउँछन् । पिलर गाडिएपछि भारतीय नागरिकको दुई वटा घर नेपाली भूमिमा परेको भेटिएको छ । भारतीय नागरिक नजमुद्दीन शेख भन्छन्,‘गाउँमा एउटा पिपलको बोट थियो, भारतीय नागरिकहरू भन्थ्यो सीमा त्यही हो, तर नेपाली नागरिकहरूले पूरा मेची खोला सिमाना हो भन्ने गर्थ्यो ।’ उनका अनुसार चार वर्षअघि दुवै देशको नापी सर्वेक्षण टोलीले सीमा छुट्टाएर गएपछि दुई वटा घर नेपाली भूमिमा प‍र्यो । ‘सीमाले देश छुट्टाए पनि हामी अहिले पनि नेपाली भूमिमै बसोबास गर्दै आइरहेका छौ’,उनले भने,‘हामी सबै सेवा सुविधा भारतबाटै लिन्छौ, तर बस्छौ नेपाली भूमिमा ।’

मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित झापामा १ सय ७४ हेक्टरमा सीमा विवादित छ । अहिले ती विवादित सीमा क्षेत्र भारतले आफ्नो गुगल म्यापमा समावेश गरिसकेको देखिन्छ । ११८ किलोमिटर बोर्डर क्षेत्र रहेको झापामा भद्रपुरको मेचीपुल, मेचीपारि, कचनकवलको पाठामारी, साबिक महेशपुर, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायतका ठाउँका सीमा विवाद छ । कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो । तर, २०४३ सालतिर पिलर गाडियो र २०५२ सालमा आइपुग्दा नागरिकता र धनी पुर्जा बनाउने क्रममा पुरै भूमि भारततर्फ भइसकेको स्थानीयले बताए ।