धरान : यलम्बर साँझ ५०८० को सम्पूर्ण तयारी पुरा भएको छ । किरातहरुले मान्दै आएको नयाँ बर्ष यलम्बर सम्बत ५०८० को अवसरमा यही पुष २९ गते मङ्गलबार धरानको भानुचोकमा हुने यलम्बर साँझको सम्पूर्ण तयारी पुरा भएको आयोजक किरात राई यायोक्खा सुनसरीले जनाएको हो ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसहित यलम्बर सम्बत ५०८० आयोजना हुने भएको हो । यलम्बर साँझमा चर्चित गायकहरु राजेश पायल राई, जितेन राईसहित किरात राई साँस्कृतिक कलाकार संघका कलकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । यायोक्खाका जिल्ला अध्यक्ष बलराम राईले किरात राज्य प्राप्तीको आन्दोलनको प्रचारात्मक अभियानअन्र्तगत नै यलम्बर साँझ आयोजना गरिएको बताए । ‘२०६३ सालदेखि नै किरात प्रदेशको माग राखेर आन्दोलनमा छौं, अहिले १ नं प्रदेशलाई किरात प्रदेश नामकरण गर्नुपर्ने माग छ,’अध्यक्ष राईले भने,‘यलम्बर साँझ पनि किरात प्रदेशकै प्रचारात्मक अभियान हो ।’

82020211_2941756669168361_6974664994759639040_n

भानुचोकमा आयोजित कार्यक्रम प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ । उक्त कार्यक्रममा एक जना वक्ताले प्रदेश नामकरणबारे बोल्नेछन् भने एक वक्ताले यलम्बर सम्बतबारे बोल्ने यायेक्खाले जनाएको छ । किरातीहरुले नेपालमा ३२ पुस्ता शासन गरेको मानिन्छ । किरातीहरुको पहिलो राजा यलम्बर हाङ हुन् । उनले शासन शुरु गरेको समयलाई आधार मानेर स्थापना गरिएको सम्बतकोरुपमा लिने गरिन्छ । यलम्बर सम्बतलाई राईहरुले यलम्बर सम्बत, लिम्बुहरुले यले तङ्वे, सुनुवारहरुले यले थोचे र याक्खा जातिले यले सम्बत भन्ने गर्छन् ।