धरान: प्रदेश नं १ स्तरीय पाँचौं पानवारी भलिबल रनिङ कप २०७६ यही माघ ६ गतेदेखि आयोजना हुने भएको छ ।

आयोजक सयपत्री बोइज युनियन क्लब धरानले मंगलबार द बेसमेन्टमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । धरानको वडा नं ६, पानवारीस्थित सिमल चौरी खेल मैदानमा हुने प्रतियोगिता २०७२ सालदेखि निरन्तर आयोजना भइरहेको छ । प्रतियोगिताको विजेताले चाँदीको रनिङ ट्रफीसँगै नगद ७५ हजार पाउनेछ भने उपविजेताले ४१ हजार हात पार्नेछ । यो पुरस्कार राशी गएको सँस्करणकै निरन्तरता भएको पनि आयोजक क्लबका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिए ।

यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार ५ सय पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट प्रशिक्षक सबैले जनही नगद ५ हजार दिइने आयोजक क्लबका महासचिव केदार बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १० वटा टिम सहभागी हुने अनुमान गरिएको छ । सम्भावित टिमहरुमा १ नं प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा र आयोजक क्लब रहेको पनि महासचिव बस्नेतले बताए ।

प्रतियोगिताको पहिलो सँस्करण त्रिवेणी युवा क्लब मोरङले जितेको थियो भने दोस्रो सँस्करण डुम्राहा भलिबल क्लब सुनसरी, तेस्रो सँस्करण १ नं प्रदेश प्रहरी विराटनगर र चौथो सँस्करण आयोजकले जितेको थियो । प्रतियोगिताको संयोजन धरान उपमहागनरपालिका र ६ नं वडा कार्यालय रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर, सह प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ ।