धरान: चार दिने सुर्य नेपाल इष्टर्न ओपन २०२० को पहिलो दिनको खेल समाप्ती हुँदा शीर्ष तीन स्थानमा धरानका गल्फरहरुले कब्जा जमाएका छन् ।

पार ७० को निर्वाणा गल्फ कोर्षमा मंगलबार १८ होलको खेल सकिदा धरानका एमेच्योर गल्फर निरज तामाङ शीर्ष स्थानमा छन् भने दोस्रोमा व्यवसायिक खेलाडी शुक्रबहादुर राई र तेस्रो स्थानमा बलभद्र राई(मणी) रहेका छन् । शीर्ष स्थानमा रहेका निरजले निर्वाणा गल्फ कोर्षमा ६ अण्डर ६४ स्कोर गरे । निरजको ६ अण्डरको स्कोर निर्वाणा गल्फ कोर्षमा अहिलेसम्मकै उत्कृष्ट हो । यो भन्दा अघि कुनै पनि खेलाडीले ६ अण्डर खेलेका थिएनन् । निरजले फ्रन्ट नाइन ५ अण्डर ३१ र ब्याक नाइन १ अण्डर ३३ खेलेका थिए ।

eastern2

दोस्रो स्थानमा धरानकै युवा गल्फर शुक्रबहादुर राई रहेका छन् । उनले पहिलो दिन ३ अण्डर ६७ स्कोर खेले । उनी गत बर्ष इष्टर्न ओपनमा एमेच्योर र व्यवसायिक दुवै उपाधि हत्याएका थिए । उनले फ्रण्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाएका थिए । यसैगरी, धरानकै व्यवसायिक खेलाडी बलभद्र राई(मणी) तेस्रो स्थानमा छन् । उनले पहिलो दिन १ अण्डर ६९ स्कोर गरे । फ्रण्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा इभन पार ३४ को कार्ड बनाए ।

समान १ ओभर ७१ स्कोर गर्दै नेपालका नम्बर वान खेलाडी शिवराम श्रेष्ठ, दिनेश प्रजापति र रमेश अधिकारी संयुक्त चौथो स्थानमा छन् । यस्तै, समान २ ओभर ७२ स्कोर गर्दै शिवकुमार माझी, सञ्जय लामा र दिपक मगर संयुक्त सातौं स्थानमा छन् । यसैगरी, समान ३ ओभर ७३ स्कोर खेल्दै विनोद तामाङ, विपिन तामाङ, सुन्दर राई, कृष्णमान राजवाहक, सुनिल केसी र धनबहादुर थापा संयुक्तरुपमा दशौं स्थानमा छन् ।

eastern-open1

चार दिने प्रतियोगितामा ३४ व्यवसायिक र १६ एमेच्योर गरी कुल ५० जना खेलाडीहरु सहभागी छन् । प्रतियोगितामा २ दिन ३६ होलको खेल सकिएपछि उत्कृष्ट स्कोर गर्ने २४ खेलाडीहरु मात्र तेस्रो दिनको स्पर्धाको लागि छनौट हुन्छन् । व्यवसायिक खेलाडीतर्फ च्याम्पियनले ट्रफीसहित नगद १ लाख २५ हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुने खेलाडीले ७५ हजार पाउनेछन् । एमेच्योरको विजेता र उपविजेताले भने ट्रफी पाउनेछन् ।

eastern-open-golf

eastern4