धरान: २२ औ अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फागुन १० गतेदेखि हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले आज नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गरेर फागुन १० गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । यसअघि मंसिर १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी भएपनि स्थानीयतह उपनिर्वाचन र साग खेलकुदको कारण प्रतियोगिता सार्नुपरेको अध्यक्ष किसोर राईले जानकारी दिए । प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा हुनेछ ।

प्रतियोगितामा यो पटक दुई विदेशीसहित ८ टिम सहभागी हुने निश्चित भएको अध्यक्ष राईले बताए । उनका अनुसार मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, मुख्यमन्त्री क्लब, प्रदेश नं १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबले सहभागीता जनाउनेछ । यस्तै, विदेशी टिमकोरुपमा जापान फुटबल लिग टिम र युके एफसि भारतले सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिए ।

budha-subba2

यो सँस्करणमा भिडियो एसिस्टेन्ट रेफ्री(भि.ए.आर.) प्रविधिको पनि प्रयोग गरिने आयोजकले जनाएको छ भने अनलाइनबाट प्रत्यक्ष प्रसारण पनि गरिने महासचिव प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ ।

यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेन् । प्रतियोगिताको लागि अनुमानित आय ९० लाख हुने आयोजकको अपेक्षा छ भने ७४ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ ।