धरान : प्रभु बैंक धरान टेन के रन आठौं नेवा च्यारिटी २०२० को सम्पूर्ण तयारी पुरा भएको छ । फागुन १० गते आयोजना हुन लागेको प्रभु बैंक धरान टेन के रन आठौं नेवा च्यारिटीको टि-सर्ट र मेडल शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

आठौं सँस्करणमा यसपाली ५ हजार भन्दाबढीले दौडमा सहभागिता जनाउने आयोजकको दाबी छ । फारम भर्ने सबै सहभागीहरुलाई आयोजकले टि-सर्ट उपलब्ध गराउने गरेको छ । धरान रनका अध्यक्ष रमु राईले मेडल र टिसर्ट सार्वजनिक गर्दै मेडल हङकङबाट ल्याइएको जानकारी दिए । दौडमा सहभागी भएर २ हजार भित्र पर्न सफल भएकाहरुलाई मेडल दिने अध्यक्ष राईले बताए ।

medal

यसपटक भारत र वंगलादेशका खेलाडीहरुले पनि दौडमा सहभागी हुने आयोजकले जनाएको छ । आयोजकले यसपाली मुख्य स्पर्धामा खुलातर्फको प्रथम नगद पुरस्कार राशी वृद्धि गरेको छ । खुलातर्फ महिला र पुरुषको प्रथम नगद पुरस्कार वृद्धि गरेर जनही ५० हजार रुपैयाँ पुर्याइएको आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने दुवैतर्फका खेलाडीले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दौडमा १२ बर्षसम्म, १६ बर्षसम्म, ४० बर्ष माथिको भेट्रान र ६० बर्षमाथिको सुपर भेट्रान उमेर समुह सहभागीता हुनेछ । दौडमा ४० बर्ष माथिको भेट्रान, १६ बर्षसम्म र १२ बर्षसम्म उमेर समुहका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सुपर भेट्रानतर्फका विजेताहरुलाई आकर्षण उपहार दिइने छ । (फोटोः धरान रनका अध्यक्ष रमु राईको फेसबुकबाट)