मुम्बई : निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ केही समयदेखि चर्चामा छ। यो फिल्मबाट बलिउड अभिनेत्री आलिया भट्ट साउथ फिल्ममा डेब्यु गर्न लागेकी थिइन्। अहिले डेट मिलाउन नसकेर आलियाले राजामौलीको यो फिल्म छोडेको खबर सार्वजनिक भएको छ।

एक रिपोर्टअनुसार ‘गली ब्वाई’ अभिनेत्री यो महिनाको सुरुआतमा ‘आरआरआर’ का लागि हैदराबाद, गुजरात र पुणेमा सुटिङ योजनामा थिइन् तर कोरोना भाइरसका कारण फिल्मको सुटिङ स्थगित गरिएको छ। राजामौली लगातार आलियाका म्यानेजरसँग सम्पर्कमा छन्। उनी मे महिनाका लागि उनको डेट लिने प्रयास गरिरहेका छन्। आलिया मेमा ‘सडक– २’, ‘ब्रह्मास्त्र’ र सञ्जयलीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ जस्ता धेरै प्रोजेक्ट एकसाथ गर्दै छिन्। उनले डेट एडजस्टमेन्ट गर्न सकिरहेकी छैनन्। त्यसैले उनले फिल्मबाट बाहिरिने फैसला गरेकी छन्।

‘आरआरआर’ एक पिरियड ड्रामा हो जसमा भारतका स्‍वतन्त्रता सैनिक अलुरी सीताराम राजु र कोमाराम भीमको कथा देखाइनेछ। फिल्‍ममा जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा छन्। फिल्ममा बलिउड अभिनेता अजय देवगन पनि केमियो रोलम देखिने छन्। फिल्म निर्माणमा चार सयदेखि पाँच सय करोड रुपैयाँ खर्च हुने बताइएको छ।