इटहरी : क्यानभास साहित्य समाज तरहराले यहाँ रहेको संगीत साधना प्रतिष्ठानमा पूर्वमा बसेर कविता क्षेत्रमा क्रियाशिल रहँदै आएका दुई कविलाई उभ्याएको छ ।
५० को दशकदेखि निरन्तर नेपाली कविता लेख्दै आएका इटहरीका कवि हेमन यात्री र ६० को दशकदेखि कविता लेख्दै आएका धनकुटा पाख्रीबासका रोशन परियारलाई मञ्चमा उभ्याएको थियो । दुई कविले करीब डेढ दर्जन बढी कविता सुनाएका थिए । कवि यात्रीले ‘बेपत्ताको आत्मा’, ‘स्वयम्भु’, ‘म त्यहि हुँ तिमीले बिर्सिगएको मानिस’, ‘एक्लै–एक्लै’, ‘फेरि एक्लै’, ‘आमाको गीत १’, ‘आमाको गीत २’ लगायत शीर्षकका कविता सुनाएका थिए । उनले वाचन गरेका प्रत्येक कवितामा वाहवाही पाए । त्यस्तै, परियारले ‘ए कान्छा’, ‘शब्दमा मेरा बा’, ‘धनी र गरीब’, ‘घाम र प्रेम’, ‘वाह कविता’, ‘भूल’, ‘एक्ली आमा’, ‘अदालतमा मतुवा’ शीर्षक लगायतका कविता वाचन गरे । उनले प्रत्येक पटक कविता वाचन गर्दा दर्शक दीर्घबाट ताली पाएको थियो । 
नेपाली कविताको क्षेत्रमा योगदान दिनु अनुकरणीय रहेकाले आँफूरुले उक्त कार्यक्रमको आयोजना गरिएको क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले यो कार्यक्रम कविताको उत्थानका लागि मात्र नभएर यो ठाउँको प्रबर्धनका लागि पनि गरेका हौँ ।’ कार्यक्रममा क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीले आँफूरुले नेपाली साहित्यका विभिन्न विधा, कविता, गजल तथा बजारमा आएका पुस्तकको परिचर्चा कार्यक्रम समेत आयोजना गर्दै आएको बताए । भने, ‘हामीले विभिन्न विधाका कार्यक्रमहरु गर्दै आएका छौँ, आजको कार्यक्रम कविलाई उभ्याउनु मात्र नभई संगीत साधनालाई चिनाउनु पनि हो ।’ उनका अनुसार साहित्य समाजले आगामी दिनमा पनि साहित्यका विभिन्न कार्यक्रमहरु आयोजना गर्नेछ ।
कार्यक्रममा बिराटनगर, धनकुटा, धरान, इटहरी, तरहरा, झुम्का, बराहक्षेत्र लगायत ठाउँबाट डेढ सय भन्दा बढी साहित्य सर्जकहरु आमन्त्रित रहेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































