ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा नशामा लठ्ठिएपछि ग्याङ्फाइट एकको मृत्यु शीर्षकको समाचार छापिएको छ । मोरङको धनपालथान गाउँपालिका ४ मा मदिरामा लठ्ठीएपछि ग्याङ्फाइट हुँदा गम्भीर घाइते भएका ४२ वर्षीय विसुनदेव मुखियाको मृत्यु भएको छ । मादक पदार्थ सेवन पछि युवाहरुबीच विवाद उत्पन्न भई गत माघ ४ गते राति धनपालथान ४ स्थित एक होटलबाहिर ग्याङ्फाइट भएको थियो । ग्याङ्फाइटमा दोहोरो झडप हुँदा मुखियासहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका मुखियाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा सोमबार राति मृत्यु भएको छ । घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।

आजकै ब्लाष्टमा तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको काम सुस्त शीर्षकको समाचार छापिएको छ । तेह्रथुम र पाँचथर जोड्ने कुम्मायक गाउँपालिकास्थित लुम्बुघाटमा निर्माणधीन मोटरवेल पुलको काम सुस्त भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुलको काम सुस्त गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवालाई २०६९ सालमा ठेक्का दिएको थियो । तर पटक पटक म्याद गर्दा समेत योजना पूरा नभएपछि पुनः अन्तिम पटक भन्दै २०७८ साल चैत्र १५ सम्म म्याद थप गरी निर्माणको काम हुँदै आएको छ । अलपत्र अवस्थाको पुलमा ठेकेदार कम्पनीले कम जनशक्ति परिचालन गरी सुस्त गतिमा काम गर्दै आएको छ । काम शुरु गरेको ८ वर्ष बित्न लाग्दासमेत योजनाले गति नलिदाँ स्थानीयबासी निराश भएका छन् । निर्माण कम्पनीले बाँकी रहेको स्टिलको ट्रस राख्ने स्थानमा दुईवटा पिलरको काम गर्दै आएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू शीर्षकको समाचार छापिएको छ । सवनरी दुर्घटना न्युनिकरणको लागि प्रदेश १ मा टाईम कार्ड लागु गरिएको छ । सडक सुरक्षा अभियान अन्तरगत १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले तराईको सुनसरी, मोरङ र झापा जिल्लाका १३ स्थानमा टाईम कार्ड लागु गरेको हो । बुधबार मोरङको गछियाबाट अभियानको प्रदेश प्रहरी प्रमुख डिआईजी ठाकुर प्रसाद ज्ञवालीले उद्घाटन गर्दै अभियान सुरु गरेका थिए । सार्वजनिक सवारी साधनमा लागु हुने गरी सुरु गरिएको अभियानको एक हप्ताम्म कुनै किसिमको कारबाही नहुने र पछि टाईम कार्डको नियम अनुसार कारबाही प्रक्रिया अघि बढाइने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भिमबहादुर दाहालले जानकारी दिए ।