इटहरी : कोरोना संक्रमण नियन्त्रणकोलागि जारी गरेको लकडाउनको समयमा सरकारी विद्यालयले शुल्क मागेको भन्दै नेपाली काँग्रेस इटहरीले आपत्ति जनाएको छ । मुलुक लकडाउनमा भएको समयमा पनि इटहरीको सामुदायिक विद्यालय जनता माविले अभिभावक सँग शुल्क मागेको भन्दै विषयमा काँग्रेसले विज्ञप्ति निकालेर विरोध गरेको हो ।

लकडाउनकै समयमा विद्यालयका प्रधानाध्यापक छत्रपती ढुङ्गेलले फोन गरेर शुल्क मागेको र केही विद्यार्थीबाट शुल्क समेत लिइसकेको विषयमा काँग्रेसले विरोध जनाएको हो । सामुदायिक विद्यालयले शुल्क उठाएर अनियमितता गरेको भन्दै काँग्रेसले छानबिनको समेत माग गरेको छ ।

लामो समय देखी निमार्ण हुँदै आएका भौतिक संरचनाको हिसाबकिताब सार्वजनिक नगरिएकोले अनियमितता भएको हुनसक्ने काँग्रेसको ठहर छ ।

अघिल्लो शैक्षिक सत्र देखी अङ्ग्रेजी माध्यमका पठनपाठन सुरु गरेको विद्यालयले सहयोगकोलागि भन्दै अभिभावकहरूबाट सहयोगको नाममा पैसा उठाउने गरेको छ । विद्यालयले शुल्क लिन नपाउने कानुनलाई कुल्चिदै सहयोगको नाममा प्रति विद्यार्थी १९ हजार ७ सय ५० रुपैयाँ बैङ्क खातामा रकम जम्मा गर्न दबाब दिँदै शुल्क उठाउन थालेको हो । यसरी पैसा माग्ने कार्य खेदजनक रहेको काँग्रेसको ठहर छ ।

नगर सभापति हेमकर्ण पौडेलले जारी विज्ञप्तिमा जनता माविमा भवन निमार्णको विषयमा आर्थिक हिसाबकिताब सार्वजनिक नगरिएको र विद्यालयमा भ्रष्ट्राचार गन्ध आएको समेत उल्लेख गरिएको छ ।

उता उपमहानगरको मातहतमा रहेको जनता माविको अनियमितताको विषयमा उपमहानगर चुप लागेको काँग्रेसको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगालले यस्तो अवस्थामा पनि अभिभावकहरू सँग पैसा असुल्ने काम गरेको प्रति काँग्रेसले विरोध जनाएको हो ।

बैकमा जम्मा गरेको उक्त रकम तत्काल फिर्ता गरी विद्यार्थी भर्नाको नाममा रकम असुल्ने काम नरोके काँग्रेस चुप लागेर नबस्ने पौडेलले चेतावनी दिएका छन् ।

Congress-Press-release-janata-School