इटहरी : प्रदेश नम्बर एकले आफ्नो प्रदेश भित्रका जिल्ला अस्पतालहरुको स्तरोन्नती गर्ने भएको छ । आउदो आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले जिल्ला अस्पतालको स्तरोन्नती गर्ने नीति प्रस्तुत गरेका हुन् ।
अधिकारिका अनुसार जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नती गरिनेछ। आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइने भएको हो।
त्यसै गरि कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने सरकारको नीति रहेको छ । मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिनेछ ।
सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिनेछ। धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटर सहित बहु बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिनेछ। स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीमा सहकार्य गरिनेछ ।

































































