चतरा : वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा पूर्वेली साहित्यिक मञ्चले प्रदेश नं १ स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। ११३ औँ लक्ष्मी जयन्तीको अवसरमा 'दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता'को आयोजना गर्ने मञ्चका अध्यक्ष कवि सन्तोष चौलागाईले बताए। मञ्चले २०७६ सालमा १११ औँ लक्ष्मी जयन्तीका अवसरमा पहिलो पटक कविता प्रतियोगिता आयोजना गरेको थियो।

शुभ दीपावली तथा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा मञ्चको स्थापनाकालदेखि नै प्रत्येक वर्ष आयोजना हुँदै आएको लक्ष्मी जयन्ती विशेष कार्यक्रम कोरोना महामारीका कारण गत वर्ष निरन्तरता दिन नसकिएको मञ्चकी महासचिव कवि सुरक्षा निरौलाले बताइन । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष आगामी कात्तिक १८ गते बिहीबारका दिन वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा सो कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा प्रदेश नम्बर एक भरीबाट प्राप्त भएका कविताहरू मध्येबाट उत्कृष्ट २० कविता वाचनका लागि छानिनेछन् । सोही उत्कृष्ट २० कविताहरू अन्तिम चरणमा वाचन हुनेछन् र तिनै कविताहरूबाट उत्कृष्ट ४ लाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष कवि सन्तोष चौलागाईंले बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने कविहरूलाई क्रमशः नगद १० हजार, ५ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ।

कात्तिक २ गतेदेखि कात्तिक १२ गतेसम्म प्रतियोगिताका लागि कविता पठाउन सकिनेछ कार्यक्रम संयोजक समेत रहेका मञ्चका उपाध्यक्ष कवि जीवन सापकोटाले बताए।

सूचना सार्वजनिक भएदेखि नै सोधपुछ र केही कविताहरू प्राप्त हुन थालिसकेकाले प्रतियोगिताका लागि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरूबाट उत्साहजनक रूपमा सहभागी आउनेमा आशावादी रहेको मञ्चकी महासचिव कवि सुरक्षा निरौलाले बताइन्।