झापा : झापामा पछिल्लो १० दिनमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ ।

यो माघ १३ गतेदेखि २४ गतेसम्मको तथ्याङ्क हो । तेस्रो लहर सुरु भएपछि झापामा १३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार माघ १३, १४ र १५ गते क्रमशः एक-एक जनाको मृत्यु भएको छ । 

माघ १७ गते एक तथा माघ १९ र २० गते एक–एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक माघ २४ गते (सोमबार) एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको  अर्जुनधारा नगरपालिका  ९ का एक महिलाको मृत्यु भएको  हो । ४५ वर्षीया उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

माघ २१ गते पनि सोही नगरपालिका ४ का ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको पनि  सोही हस्पिटलमा मृत्यु भएको हो । कोरोनाले  मृत्यु हुने दुई जना इलामका र अरू झापाको भएको स्वास्थ्य कार्यालय झापाको रेकर्डमा छ ।

अहिले झापामा एक हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये १८ जना अस्पतालमा उपचाररत छन् । अरू होम आइसोलेसनमा छन् । झापामा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ सय ७० पुगेको छ । सोमबार झापामा १३ पुरुष र आठ महिला सहित २१ जना सङ्क्रमित थपिएका छन् ।