लेटाङ : मोरङको लेटाङमा सोमबार बिहानैदेखि जारी गरिएको कर्फ्यू  आदेश आजबाट पूर्ण रूपमा हटेको छ।  हिजो बुधवार केही खुकुलो पारिएको कर्फ्यु आज बिहान देखी पूर्ण रूपमा हटाइएपछि लेटाङको जनजीवन सामान्य अवस्थामा फर्कँदै छ ।

स्थानीय एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण आइतबार बेलुका एक प्रहरीको हत्या भएको थियो । भीड नियन्त्रणमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि सोमबार बिहान देखी प्रशासनले लेटाङमा कर्फ्यु आदेश जारी गरेको थियो । घटनाको छानबिन गर्न एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति समेत गठन गरिएको छ ।

यस्तै लेटाङ नगर प्रमुख शङ्कर राईले घटनाका कारण उत्पन्न परिस्थितिले आफूलाई दुखी तुल्याएको बताएका छन् । आज बिहान कपुरी न्युजसँग उनले घटनालाई राजनीतिकरण हुन नदिन आफू प्रयत्नशील रहेको पनि बताए । उनले लेटाङमा भएका प्रहरी श्रोत र साधनको अभावका बाबजुद काम गरिरहेको स्मरण गराउँदै आफूले गत सोमबार सुन्दर हरैचामा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेरै शान्ति सुरक्षाका विषयमा राज्य गम्भीर भइदिन ज्ञापन पत्र समेत बुझाएको बताए । 

यस्तै विद्यालयमा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्न आज एक टोली गठन गर्ने नगर प्रमुख राईले जानकारी दिए । उनले भने, “आज छलफलका लागि बोलाएको छु । अब कसरी सहज वातावरण बन्छ त्यतातिर लाग्नेछु ।”  नगर प्रमुख राईले यस घटनाले लेटाङवासीलाई मर्माहत तुल्याएको भन्दै आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन आफूहरू सचेत भइसकेको समेत उल्लेख गरे ।

Crfue-hateko-suchana