विराटनगर : मोरङको लेटाङ नगरपालिका-५ मा चैत ६ गते २६ वर्षीय महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले आज विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना एवं निन्दा गरेको छ । इन्सेकले विज्ञप्ति मार्फत नागरिकको बाँच्न पाउने अधिकार खोसिएको भन्दै घटनाको भर्त्सना र निन्दा गरेको हो।
प्रदेश संयोजक सोमराज थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा “लेटाङ नगरपालिका-५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रामाथि सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयबाट उत्पन्न घटना क्रमले सुरक्षाका निम्ति खटिएकी राष्ट्र सेवक प्रहरी २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको घटनाप्रति इन्सेक प्रदेश १, कार्यालय विराटनगरको गम्भीर ध्यानाकर्षण भएको छ । बाँच्न पाउने नागरिकको अधिकार खोसिएको प्रति इन्सेक भर्त्सना एवम् निन्दा व्यक्त गर्दछ ।” उल्लेख गरिएको छ। 
विज्ञप्तिमा नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा  गरेको र दोषीलाई कारबाही गर्न सम्मानित अदालत रहेको उल्लेख छ । कानुन बमोजिम दोषीलाई कारबाही र पीडितलाई न्याय प्राप्तिको माग गर्नुपर्ने अवस्थामा विद्यालय परिसरमा दङ्गा, हुलहुज्जत, भाँडभैलो र अवाञ्छित गतिविधि भई व्यक्तिको हत्या भएको घटनामा इन्सेकले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । 
घटनापछि विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकार प्रत्यक्ष खोसिएको विषयमा इन्सेक सबै पक्षको ध्यान आकृष्ट गराएको छ । इन्सेकद्वारा जारी विज्ञप्तिमा "घटनाको स्वतन्त्र एवम् निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारबाही गर्न इन्सेक जोडदार माग गर्दछ।" मानव अधिकार र मानव गरिमाको सम्मान गर्न इन्सेक विज्ञप्ति मार्फत सबै पक्षसँग आग्रह गरेको छ ।
insake-press-release-letang