धरान : परिवर्तनका लागि सामाजिक अभियानले ‘घरको स्कुल’ कार्यक्रम प्रारम्भ गरेको छ।

अभियानले धरान-१५ को जनता आधारभूत विद्यालयमा 'घरको स्कुल' कार्यक्रम सुरु गरिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । उनका अनुसार स्कुलमा गरिब तथा विपन्न नागरिकका बच्चा बच्चीहरू अध्ययन गर्ने थाहा पाएपछि विद्यालय प्रशासनसँग छलफल गरी ‘घरको स्कुल’ प्रारम्भ गरिएको हो । अभियानले आफ्नै खर्चमा विद्यालयका दुई जना शिक्षकलाई पढाएबापत शुल्क दिने भएको छ ।

पहिलो चरणअन्तर्गत १५ दिनसम्म पढाइने भएको छ । किनकि चैत १७ गतेदेखि स्थानीय तहले धरानका सबै सामुदायिक स्कुलहरूको परीक्षा सुरु गर्ने तयारी गरिएकाले पहिलो चरणमा १५ दिन मात्रै पढाउने तयारी गरिएको घरको स्कुलका संयोजक भोजराज श्रेष्ठले जानकारी दिए । घरको स्कुलमा गरिब तथा विपन्न नागरिकका अति कमजोर विद्यार्थीहरूलाई दुई घण्टा ‘ट्युसन’ पढाइने छ । उनले भने, ‘कमजोर विद्यार्थीहरूलाई पढाइमा पुसअप गर्नका लागि घरको स्कुल सुरु गरिएको हो ।’ घरको स्कुल आइतबारदेखि सुरु हुँदै छ । यस क्रममा शुक्रवार विद्यार्थीका अभिभावकसँग छलफल गरिएको छ ।

जनता आधारभूत विद्यालयका प्रधानाध्यापक काजी लामाले घरको स्कुल कार्यक्रमले विद्यार्थीहरूको पढाइको स्तर बढ्ने बताए । उनले अभिभावकहरूलाई नियमित विद्यालयमा विद्यार्थीहरू पठाएर सहयोग गर्न आग्रह गरे । अभियानका सल्लाहकार मोहन श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै भने, ‘यो कार्यक्रम हामीले तपाईँ (अभिभावक) का लागि ल्याएका हौँ, तपाईँहरूले सहयोग गर्नु भएन भने हामी सफल हुँदैनौँ । तपाईँहरूले आफ्ना बालबच्चालाई पठाएर सहयोग गरिदिनुहोला ।’ विद्यालयका शिक्षक किशोर राईले पनि अभिभावकहरूले दैनिक आफ्ना बालबच्चाले अध्ययन गरेको विषयबारे अनुगमन गरिदिन आग्रह गरे । कार्यक्रममा अभियानका सदस्य प्रशान्त अग्रवाल, निशान नेपाललगायतको उपस्थिति थियो ।

अभियानले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा मुटु रोगसम्बन्धी पाक्षिक रूपमा ‘सामाजिक स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आइरहेको छ । जसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सेवा दिइँदै आएको छ।