धरान ; परिवर्तनका लागि सामाजिक अभियानले १३ औँ संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक शनिवार कृषि उपज बजार स्थलमा सम्पन्न गरेको छ । 

हरेक महिनाको पहिलो र तेस्रो शनिवार आयोजना गर्दै आइरहेको सो क्लिनिकमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि मधुमेह, उच्च रक्तचाप र  मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच हुँदै आइरहेको छ । कृषि बजार व्यवस्थापन समितिसँगको सहकार्यमा कृषि बजार, धरान-१३ मा आयोजित उक्त क्लिनिकमा ७७ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

अभियानका अध्यक्ष विष्णु बरालले आज आयोजित यो क्लिनिक ज्यादै नै उपलब्धिमूलक रहेको बताए । बरालले भने “बजारका व्यवसायीहरू दिनभर दोकानमै बस्नु पर्ने र हिँडडुल र स्वास्थ्य जाँचमा समय दिन नभ्याउने हुनाले विशेष गरी आजको कार्यक्रम वहाँहरूको लागि ज्यादै नै उपलब्धि मूलक रह्यो” बरालले भने । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा कृषि बजारका व्यवसायी लगायत धरान र धरान बाहिरबाट पनि बिरामीहरु आएका थिए । अभियानका सदस्य त्रिभुवन बरालको संयोजनमा सम्पन्न यो कार्यक्रम नवौँ संस्करणसम्म धरान मोडल कलेजमा आयोजना हुँदै आइरहेको थियो भने वडा वडामा आयोजना गर्ने अभियान अनुरूप यस अघि १८ नं. वडा कार्यालय, २ नं. वडा कार्यालय र धुलिखेल समाज धरान १ मा आयोजना भइसकेको छ । 

विशेष गरी मुटु रोग, उच्च रक्तचाप र मधुमेहको परीक्षण गरिने उक्त क्लिनिकका चिकित्सक डा. प्रशान्त शाहले बिरामीहरूले हेलचेक्र्याइँ गर्ने र अप्ठ्यारो परिस्थितिमा मात्र उपचारका लागि अस्पताल जाने गरेको बताए । “बिरामीको अवस्था  नाजुक भएपछि मात्र अस्पताल जाने गरेको, विशेष गरी व्यवसायमै व्यस्त भई हेलचेक्र्याइँ गरेको पाइयो, बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गराउन अनुरोध गर्दछु” डा. शाहले भने । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निशा श्रेष्ठले ब्लड प्रेसर परीक्षण गर्नुका साथै आवश्यक सहयोग पनि गरेकी थिइन । अभियानका अभियन्ताहरू वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, प्रशान्त अग्रवाल, विदुर थापा, विजय श्रेष्ठ, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, चक्र खड्का, ऋषिराम भट्टराईको सक्रिय सहभागिता रहेको थियो । 

धरान उपमहानगरपालिकाका पूर्व मेयर एवम् कृषि बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मनोज कुमार मेन्याङ्वोले यो क्लिनिक आयोजना गरेकोमा सामाजिक अभियानलाई धन्यवाद प्रकट गरे । मेन्याङवोले भने “युवाहरू मिलेर यस्तो कार्यक्रम आयोजना गरेकोमा परिवर्तनका लागि सामाजिक अभियानका अभियन्ताहरूलाई आभार प्रकट गर्न चाहन्छु” साथै यस्तो प्रशंसनीय कार्यक्रमलाई निरन्तरता दिनका लागि उपमहानगरपालिकाले अपनत्व समेत ग्रहण गर्नुपर्ने बताए ।

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले सञ्चालन गरेको समापन कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले डा. शाह एवम् आयोजक परिवर्तनका लागि सामाजिक अभियानप्रति धन्यवाद प्रकट गर्दै सोचेको भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको बताए । “हामीले सोचेका सङ्ख्याभन्दा बढी बिरामीहरूको उपचार भएको पायौ, अब मजदुरहरूका लागि पनि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्नका लागि अभियानलाई अनुरोध गर्दछु” कटुवालले भने ।