इटहरी  : नेपाली काँग्रेस इटहरीले चुनावी प्रचारको लागि गीत सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी 'बोकौं है चार तारे झण्डा' बोलको गीत सार्वजनिक भएको हो । इटहरीको इन्टुरिस्ट प्यालेसमा आयोजीत कार्यक्रममा गीतका रचनाकार विक्रम घिमिरेले चुनावी गीत सार्वजनिक गरेका हुन् ।
पाँच दलीय गठबन्धनमा इटहरीको मेयर काँग्रेसले नपाउने खबर सार्वजनिक भएसँगै गीत सार्वजनिक गरेर दबाब दिने रणनीति बनाएको हो । चुनावी प्रचारको लागि गित नै तयार भइसकेको बुझाउन युवा नेताहरुले दबाब बढाएका हुन् । इटहरीमा मेयर पाउनुपर्ने माग गर्दै नेकपा एकीकृत समाजवादीले पनि अडान लिएको छ । उता काँग्रेसका स्थानीय देखी जिल्ला नेतृत्वले गठबन्धन गर्ने भए काँग्रेसको नेतृत्वमा गर्नुपर्ने नभए मित्रवत् प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका छन् ।  
नगर सचिव समेत रहेको घिमिरेले चुनाव प्रचारमा स्थानीय तहबाट नयाँ अभ्यास गर्न खोजिएको बताए । गठबन्धनमा काँग्रेसले मेयर उपमेयरका टिकट पाउनुपर्ने दबाब स्वरूप चाडै गीत सार्वजनिक गर्नुपरेको उनको भनाई छ । गीतले चुनावी प्रचारमा भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 
युवा नेता निमेष घिमिरेको परिकल्पनामा बनेको गीतले इटहरीको कला भाषा र संस्कृतिलाई छोएको काँग्रेसको विश्वास छ । ८ मिनेट २८ सेकेण्ड लामो गीतमा इटहरीका स्थानीयलाई कलाकारको रूपमा प्रस्तुत गरिएको छ । इटहरीको अविकसित एकम्बा देखी विकसित मानिएको सङ्गीत चोकलाई समेत गीतमा समावेश गरिएको घिमिरेले बताए । उनका अनुसार इटहरी पहिचानलाई गीतमा समावेश गर्न अधिकतम प्रयास गरिएको छ । 
राजन क्षेत्रीको गायन तथा सङ्गीतमा उमा लिम्बुले स्वर दिएकी छिन् । आनन्द राईको सम्पादनमा डोर्स ओपेनले भिडियो उत्पादन गरेको हो । एडि राजको व्यवस्थापनमा रोशिस राउतले भिडियो निर्देशन गरेका हुन्।