धरान : स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न गायक गायिकाले आफू आबद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उद्देश्यले विभिन्न गीत सङ्गीत सार्वजनिक गर्न थालेका छन् ।
गायिका तथा गीतकार गायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली काँग्रेसलाई निर्वाचनमा सघाउने उद्देश्यले काँग्रेस गीत 'चार तारे झण्डा' ल्याएकी छन्।
गीत शनिवार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे । कार्यक्रममा महामन्त्री शर्माले कलाकारको सृजना ठुलो बल हुने बताउँदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानीय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए । 
'काँग्रेस गीत बनाएको गीतकार थापालाई धन्यवाद, कलाकारको यस्तै साथ र सपोट भए काँग्रेसले स्थानीय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो विश्वास रहेको छ' महामन्त्री शर्माले अगाडि थपे 'गीत तथा साहित्यको बल ठुलो हुन्छ ।' शर्माले काँग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए ।
त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिँदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उद्देश्यले गीत बनाएको बताइन् । ‘स्थानीय निर्वाचन नजिकिँदै गर्दा आफू नजिकको पार्टीलाई जिताउन कलाकारले महत्त्वपूर्ण भूमिका खेल्न सक्नु पर्छ’ थापाले भनिन् ‘नेपाली काँग्रेसले मात्र देशभर जनताको भलो गर्न सक्छ । त्यो बुझाउन मैले गीत बनाएको हो ।’ आफ्नो गीत मार्फत नेपाली काँग्रेसको महत्त्व आम नेपालीले बुझ्ने उनको भनाई रहेको छ ।
गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचीदेखि महाकालीसम्म सबै मिलेर बिपीको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ। गरिबको दुःख हेर्ने, मजदुरको साथ दिने, विकाशको आधार नै काँग्रेस भएको समेत गीतले भनेको छ। गीतमा राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत उल्लेख छ। साथ दिने शीतल दिने सबैको प्यारो रुख, काँग्रेस नै हो सबैको बुझ्ने पिर दुख जस्ता शब्दले पनि गीतमा प्राथमिकता पाएको छ।
लोक आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रिता केसीले साथ दिएका छन्। राजकुमार बगरको सङ्गीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ। जसमा विजय पुन, रिचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै व्यक्तिको अभिनय देख्न सकिन्छ। अजय रेग्मीको छायाङ्कन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ।