इटहरी : सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ अन्य वडाको तुलनामा कम विकसित मानिन्छ। नेपाली काँग्रेसले त्यही अविकसित वडाका ऊर्जाशील युवा विवश प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उमेरले भर्खरै २५ वर्ष पुरा भएका उनी ज्येष्ठ नागरिक देखी बालबालिकाको मुद्दामा केन्द्रित भएका छन्। 

ज्येष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था मिलाउने उनले बाचा गरेका छन्। युवा स्वरोजगारको लागि सीपयुक्त युवा उत्पादन गर्ने उनले सुनाए। बाल उद्यान निर्माणको लागि आफू प्रतिबद्ध भएको उनको भनाई छ।

सफा सुन्दर वडा बनाउन ‘हाम्रो वडा सफा सुन्दर हरित, लगौँ बनाउन तपाईँ र म सहित’ भन्ने नारा तय गरेका छन् । काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन वडाध्यक्षलाई सल्लाह दिने विशेष सल्लाहकार समिति गठन गर्ने उनको घोषणापत्रमा उल्लेख गरिएको छ। 

ज्येष्ठ नागरिक र अपाङ्गलाई घरघरमै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाउने देखी थारु संस्कृतिको संरक्षणको लागि थारु अध्ययन संग्राहलय निर्माण गरिने भएको छ । विद्यालयका छात्रालाई निःशुल्क स्यानीटरी प्याड उपलब्ध गराउने र वार्षिक ५ जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था मिलाउने उनले घोषणा गरेको छन्

वडाभरि वृक्षारोपण गर्ने, हाटबजार व्यवस्थित गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, प्लास्टिक मुक्त वडा निर्माण गर्ने सङ्कल्प गरेका छन् । आपत्कालीन उद्धार तथा राहतको लागि क्विक रेस्पोन्स टिम बनाउने प्रधानको योजना छ।

युवाहरूमाझ लोकप्रिय छवि बनाएका प्रधान नेपाली काँग्रेसका ऊर्जाशील नेता हुन्। नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी मोरङका सबैभन्दा कान्छो वडाध्यक्षका उम्मेदवार हुन्।