धरान : सङ्घीय संविधानले दिएको केही उपलब्धिलाई पछि फर्काउन खोज्ने एमाले र सत्तामा सधैँ ढलीमली गर्न बनेको सत्तारुढ गठबन्धन दुवै उस्तै भएकाले राष्ट्रिय जनमुक्ति पार्टीले खबरदारी गर्न स्थानीय तहको निर्वाचनमा छुट्टै उम्मेदवारी दिएको केन्द्रीय अध्यक्ष केपी पालुङवाले बताएका छन् । 
पार्टीको स्थानीय तहको निर्वाचन २०६९ घोषणापत्र सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘गठबन्धनमा हामीलाई पनि सामेल हुन आग्रह गरिएको थियो, तर केही उपलब्धिहरू बाहेक संविधान पुनर्लेखनको मागसँग मेल नखाने भएकाले राष्ट्रिय जनमुक्ति पार्टी एक्लै चुनावमा होमिएको हो ।’
जनमुक्ति पार्टी जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्ने पहिलो पहिचानवादी पार्टी भएको उनले बताए । स्थानीय निर्वाचनमा कुनै पनि दलहरूले भाषा आयोगले सिफारिस गरे अनुसार मातृभाषा शिक्षालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छैनन् । आयोगले उम्मेदवारहरूले संविधानले दिएको भाषा तथा शिक्षा सम्बन्धी अधिकार भुल्न नहुने कुरामा ध्यानाकर्षण गराएको छ।
जनमुक्तिको घोषणापत्रमा भनिएको छ ‘पालिकाभित्र बोलिने मातृभाषामा शिक्षा र सरकारी कामकाजको भाषा बनाउने अधिकारलाई प्रोत्साहन र संरक्षण, मातृभाषाका सञ्चार र मातृभाषालाई प्रोत्साहित गर्न बालबालिकालाई ‘मातृभाषा प्रोत्साहन भत्ता’को व्यवस्था गरिने गरिने छ।’ 
केन्द्रीय अध्यक्ष पालुङवाले पार्टीले २०७४ सालको चुनावमा विजयी गाउँपालिकामै यो प्रतिबद्धता पुरा गरेको बताए । उनका अनुसार जनमुक्ति विजयी भएको इलामको माङसेबुङ नगरपालिका वडा ५ मा मातृभाषा लिम्बुलाई वडा कार्यालयको कामकाजी भाषा बनाइएको छ । त्यहाँका ७० प्रतिशत स्थानीयवासी लिम्बु भाषी छन् ।          
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले धरान सहित प्रदेश १ झापाको भद्रपुर देखी सुदूर पश्चिम प्रदेश कञ्चनपुरको चाँदनी दोधारा सम्मका नगरपालिका, गाउँपालिकामा उम्मेदवारी दिएको छ । जनमुक्तिले २०० सय स्थानीय तहमा उम्मेदवारी दिएको हो । नेपालमा कुल ७५३ स्थानीय तह छन् । पार्टले दिएको नगर/गाउँपालिका प्रमुख/अध्यक्ष वडाध्यक्षको उम्मेदवारको सङ्ख्या ३०० बढी भएको जनाएको छ ।   
धरान उपमहानगरपालिका प्रमुखमा जनमुक्ति पार्टीबाट राजेश खिम्दुङ, उपप्रमुखमा सङ्गीता श्रेष्ठले उम्मेदवार छन् । सोही अवसरमा नगर प्रमुखको छुट्टै ११ सूत्रीय घोषणापत्र प्रत्याशी राजेश खिम्दुङले जारी गरेका छन् । उनले जनमुक्तिले मेयरको चुनाव जितेमा धरानको खानेपानी समस्या समाधान गर्ने दाबी गर्दै ‘दैनिक ६ करोड लिटर पानी उत्पादन गर्ने’ दाबी गरे ।
उनको घोषणापत्र अनुसार खानेपानीको उक्त परिमाण सप्तकोसीबाट पानी ल्याएर पुरा गरिने छ । उक्त योजनका लागि धराने जनता र नगरपालिकाको लगभग १ अर्ब २० करोड रुपैयाँ लगानी गरिने छ । साथै खानेपानीको बिल प्रति युनिट २० रुपैयाँ गरिनेछ । ट्याम्पो र सफारीले उपमहानगरपालिकालाई तिर्ने कर निःशुल्क गरिने छ । हाल ट्याम्पो र सफारीले वार्षिक ९ हजार रुपैयाँ भन्दा बढी कर तिर्नु पर्दछ ।
प्रत्याशी खिम्दुङले नगरवासीले घर नक्सा पास गर्दा उपमहानगरपालिकालाई बुझाउनु पर्न शुल्क ५० प्रतिशत मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसै गरी घर नक्सा २ महिना भित्र पास गरिसक्ने नियम लागु गरिने छ । सडक, ढल बनाउँदा जनसहभागिताको नाममा रकम उठाइने परिपाटी समाप्त गरिने छ । प्रत्याशी खिम्दुङको घोषणापत्रमा भनिएको छ ‘विकासको नाममा ढल र बाटो बनाउँदा जनतासँग एक रुपैयाँ पनि पैसा उठाउन नपाउने नियम बनाउने छौँ ।’  
तस्विरः ललित राई ।