चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले सुनसरी भित्र रहेका धार्मिक एवं पर्यटकीय स्थल जोडेर धार्मिक सर्किट बनाउने योजना अगाडि बढेको बताएका छन् । 

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित औलिया बाबा मठ तथा छिन्नामस्त संरक्षण मञ्चले आयोजना गरेको अग्रज सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले वराहक्षेत्र नगरपालिकाका धार्मिकस्थल सँग छिमेकी पालिकामा रहेका धार्मिकस्थललाई जोडेर धार्मिक सर्किट निर्माणको योजना अगाडि बढाइएको बताएका हुन् । नगरप्रमुख कार्कीका अनुसार सर्किटले रामधुनी, वराहक्षेत्र र धरानमा रहेका धार्मिक क्षेत्रलाई यातायातले जोड्ने छ । 

उक्त सर्किटबारे रामधुनी नगरपालिका, वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिका प्रमुखहरू बिच शुक्रवार संयुक्त रूपमा बैठक बसेर सङ्घीय सरकारलाई योजना समेत पेस गर्ने निर्णय समेत भएको बताएका छन् । रामधुनीको रामधुनी मन्दिरबाट वराहक्षेत्रको चक्रघट्टिहुँदै चतराधाम-वराहक्षेत्र मन्दिरबाट सुर्यकुण्डहुँदै धरानको बिष्णुपादुका-विजयपुर-बुढासुब्बा-दन्तकाली-पिण्डेश्वरहुँदै वराहक्षेत्रको अमाहहुँदै रामधुनीको शंकरबेलीबाट पुनः रामधुनीको रामधुनी मन्दिर जोड्ने धार्मिक एव पर्यटकीय सर्किटले जोड्ने नगर प्रमुख कार्कीले बताए । 

वराहक्षेत्रको विकास र समृद्धिको आधार धार्मिक पर्यटन भएकाले यसको विकासमा लागि पर्ने कार्कीले बताए । नगरपालिकाले आर्थिक २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरे अनुसार धार्मिक सर्किटको योजना अघि बढेको बताउँदै नगरभित्रका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्बन, संरक्षण र पूर्वाधार विकासमा नगरपालिका लागि पर्ने बताए । वराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने संसारको चारधाम मध्यको एक धाम वराहक्षेत्र, कुम्भ क्षेत्र, औलिया मठ लगायत सम्पूर्ण पौराणिक एव ऐतिहासिक क्षेत्रको विकासमा नगरपालिका योजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरे, आदर्श माविका पूर्व प्रधानाध्यापक प्रह्लाद भट्टराई, औलिया माविका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद कट्टेल, तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल, नेपाली काँग्रेसका पूर्व नगर सभापति नारायण नेपाल, महन्त मुकुन्द भारती, समाजसेवी सुवास गौतम लगायतले वराहक्षेत्रको विकास, सम्भावना र महिमाको चर्चा गरेका थिए ।

कार्यक्रममा संरक्षण मञ्चले समाजका अगुवाहरू गङ्गाबहादुर थापामगर, रतनप्रसाद राई, कृष्णप्रसाद कट्टेल, दशरथ प्रसाद साह, मागिलाला अग्रवाल, केदारनाथ श्रेष्ठ, सुरेश श्रेष्ठ र कृष्णप्रसाद दाहाललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको थियो ।

समाजमा पुर्‍याएको योगदाका आधारमा ८ जना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको संरक्षण मञ्चका अध्यक्ष उदय ठटालले बताए । अध्यक्ष ठटालका अनुसार मञ्चले सम्मान गर्ने संस्कारको थालिन गरेको बताए । संरक्षण मञ्चका अध्यक्ष ठटालको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन स्थानिय आइरिस वराह एकेडेमीका प्रिन्सिपल वालकृष्ण राईले गरेका थिए ।

Samman