चतरा : वराहक्षेत्र नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गर्न सुरु गरिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको वितरण गर्ने योजनालाई प्राथमिकतामा राखेको नगरपालिकाले वडा नं ७ बाट धनिपुर्जाको निस्सा वितरण सुरु गरेको हो ।
सोमवार वडा नं ७ को कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, राष्ट्रिय भूमि आयोग सुनसरीका विज्ञ सुदर्शन श्रेष्ठ, वडाध्यक्ष कपिल आचार्यले वडाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित परिवारलाई धनिपुर्जाको निस्सा वितरण गरिएको थियो ।
निस्सा वितरण राष्ट्रिय भूमि आयोग सुनसरीको समन्वयमा भएको हो । उक्त कार्यक्रममा नै जग्गा नापी गर्न प्राबिधिकहरुलाई सामाग्री समेत हस्तान्तरण गरिएको थियो । वराहक्षेत्र-७ नम्बर वडामा अव्यवस्थित १९ सय ७, भूमिहीन सुकुम्वासी ४ सय ७३ र भमिहिन दलित १ सय ३७ जनाले आवदेन दिएका छन् ।
वराहक्षेत्र नगरपालिकाले वडा नं ७ लाई प्वाईन्ट मानेर काम अगाडि बढेको थियो । लालपुर्जा वितरणको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको नगर प्रमुख कार्कीले बताए । लालपुर्जा वितरण गर्ने योजनालाई सबै राजनैतिक दल, नागरिक समाजबाट सहयोग भइराखेको नगरप्रमुख कार्कीले बताए। वराहक्षेत्रमा रहेका सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जा वितरण लक्ष्य लिएको नगर प्रमुख कार्कीले बताए ।
नगरपालिकामा प्राप्त तथ्यांकअनुसार ९१ हजार जनसङ्ख्या रहेको नगरपालिकामा अव्यवस्थित बसोबास ६ हजार ८ सय ३९, भूमिहीन दलित ८ सय ७० र भूमिहीन सुकुम्वासी २ हजार ८ सय ८४ गरी १० हजार ५ सय ९३ जनाले आवेदन दिएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
         
        
















 
         
        

















































 
         
         
        