काठमाडौँ : अगामी ४ मङ्सिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै नेपाली काँग्रेसले नयाँ चुनाव गीत 'मङ्सिर चार' सार्वजनिक गरेको छ । शनिवार नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो ।
खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका सह-महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली काँग्रेसको निकट नेपाल सांस्कृतिक सङ्घले निर्माण गरेको हो ।
कार्यक्रममा मन्त्री चौधरीले ४ मङ्सिरको निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक सङ्घले जुन गीत ल्याएको छ  त्यसले नेपाली काँग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताए । 'सर्वसाधारणले काँग्रेसको सन्देश बुझ्ने गरेर निर्माण भएको चुनाव गीत मैले विमोचन गर्न पाए । मेरो लागि यो भन्दा ठुलो खुसीको विषय अन्य के होला’ मन्त्री चौधरीले थपे ।
त्यस्तै केन्द्रीय सदस्य रामहरि खतिवडाले सांस्कृतिक सङ्घले ४ मङ्सिरको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफूलाई मन परेको बताए । सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली काँग्रेसलाई निर्वाचनमा जिताउन महत्त्वपूर्ण हुने खतिवडाको धारणा थियो ।
सांस्कृतिक सङ्घका सभापति तीर्थ थापाले नेपाली काँग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कयौँ गीत ल्याएको स्मरण गर्दै ४ मङ्सिरको निर्वाचनमा काँग्रेसको जित सुनिश्चितताका लागि गीत निर्माण भएको बताए । पार्टीको नेतृत्व तहले सांस्कृतिक सङ्घको भूमिका र योगदान नदेखेको गुनासो गरेका थापाले नेपाली काँग्रेसलाई निर्वाचनमा हर किसिमबाट सघाउन सङ्घ तयार रहेको धारणा राखे ।
सांस्कृतिक सङ्घका महामन्त्री शिवशङ्कर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालको विशेष पहलमा गीत निर्माण भएको हो ।
सांस्कृतिक सङ्घका सह महामन्त्री लेख बहादुर पुन, अभिनेता विक्रान्त बस्नेत लगायत काँग्रेस निकट थुप्रै कलाकार उपस्थिति कार्यक्रममा रहेको थियो । सार्वजनिक गीतमा राधिका हमाल, शशि विक्रम थापा, गोविन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने  शब्द लोकराज अधिकारीका र सङ्गीत गोविन्द मधुर आचार्यको रहेको छ । 
विक्रान्त बस्नेत, शिवहरी वैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, सृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, नवीन गिरी, शिव शङ्कर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री , उत्तम थापा लगायतको अभिनय गीतको भिडियामा देख्न सकिन्छ ।
तीर्थ बहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायाङ्कन तथा उत्तर मगरको सम्पादन छ ।