धरान : धरान उपमहानगरपालिकामा जारी कार्यपालिका बैठकको विवादलाई लिएर मेयर हर्क साम्पाङका समर्थकहरूले आज सोमवार भानुचौकमा प्रदर्शन गरेका छन् । उनीहरूले कार्यपालिका बैठक सुचारु गर्न माग गरिएका प्लेकार्डहरू सहित प्रदर्शन गरेका हुन् । प्रदर्शन बैठक रोकिनुमा वडाध्यक्षहरू मात्र कारण भएको प्लेकार्डका नाराहरूले सङ्केत गरेको थियो । 
प्लेकार्डका नाराहरूमा ‘धरानलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन । कार्यपालिका बैठक अवरोध गर्न पाइँदैन ।’ ‘धराने जनताको मत दुरुपयोग गर्न पाइँदैन । यस्ता खाले वडा अध्यक्ष धराने जनतालाई चाहिँदैन ।’ "पाँच वर्षलाई जनताले दिएको मत विपरीत जना पाइँदैन ।" जस्ता नारा लेखिएका थिए । 
उक्त प्रदर्शन हिजो आइतबार ६ वटा प्रमुख दलहरूका स्थानिय नेतृत्व वर्गले मेयर साम्पाङलाई कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द फिर्ता लिन सुझाव दिदैं प्रकाशित गरिएको संयुक्त विज्ञप्ति विरोधमा आज प्रदर्शन भएको हुनसक्ने अनुमान गरिएको छ ।
Harka sampang samarthak 1विज्ञप्तिमा मेयरलाई ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भनी प्रयोग गरिएको शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ सुझाव दिइएको छ ।
विज्ञप्ति नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज चोत्लुङ फोक्वाहाङ (सुब्बा), जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरानका अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले जारी गरेका हुन ।
उपमहानगरपालिकामा मेयर साम्पाङ बाहेक जनताबाट निर्वाचित वडा अध्यक्षहरू सबै राजनीतिक दलहरूका छन् । दलहरूप्रति नकारात्मक रहेका मेयर सम्पाङले २०७९ असोज १३ गते कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै बैठक छोडेर हिँडेका थिए । 
त्यसयता तिन पटक बैठक बोलाइए पनि चार महिना लाग्दा सम्म कार्यपालिका बैठक बस्न सकेको छैन । मेयर साम्पाङले पुष १ गते विज्ञप्ति जारी गर्दै बैठक बस्न नसक्नुमा ‘कार्यपालिका सदस्यहरू स्थानिय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड 'क' को ६ ले नगर प्रमुखलाई दिएको कार्यपालिका बैठक/रेखदेख निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खोजजनक घटना’को उल्लेख गर्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नै जिम्मेवार भएको आरोप लगाएको छ । 
गतः विहीवार २८ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उपमहानगरपालिकमै पत्रकार सम्मेलन गरी उक्त बैठकमा मेयर राईले कार्यपालिका सदस्यको राय राख्न पाउने अधिकार हनन गर्दै रोक लगाएर बाहिर निस्केर जानुस् समेत भनी अपमानित गरेको आरोप लगाए छन् । मेयर साम्पाङलाई आत्मालोचना गरी बैठक सुचारु गर्न माग गर्दा ‘म आत्मालोचना गर्दिन’ भनी स्वेच्छाचारी प्रवृत्ति देखाएको हुनाले उक्त बैठक स्थगित भएको बताइएको छ । आत्मालोचनाको मागकै अडानमा कार्यपालिका सदस्यहरू रहेकाले कार्यपालिका बैठक बस्न नसकेको हो ।