• रश्मि प्रधान

धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक सुचारु गर्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू सँग क्षमायाचना नगर्ने अडान दोहोर्‍याएका छन् । बरु उनी अझ कडा रूपमा प्रस्तुत भएर वडाध्यक्षहरूलाई 'साइज'मा ल्याउने सोचाई तिर लागेका छन् । मेयरको यस रवैयाबाट उपमहानगरपालिकाको कार्यपालिका बैठक विवाद तत्काल सहमतिमा नपुग्ने देखिन्छ ।

कार्यपालिका बैठकमा निर्णय नगरी आज उद्योग वाणिज्य सङ्घमा बोलाइएको बैठकमा उनले ‘मेयरले किन माफी माग्नु पर्ने ?’ प्रश्न गर्दै आफूले धरानलाई संसारभर चिनाएको, एउटा सेल्फी लिन गाडी रिर्जब गरेर आउने बनाएको तथा सात वटा खोलाबाट पानी ल्याउने मेयर भएको दाबी गर्दै भने "अभिभावक भएकोले कडा शब्द प्रयोग गरी साइजमा ल्याउनु पर्ने भयो ।"

धरान नगरपालिका स्थापना दिवस मनाउने निर्णय उपमहानगरपालिकाको कार्यपालिका बैठक छलेर बोलाइएको उक्त बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नआएपछि उनले असन्तुष्टि प्रकट गरेका हुन् । कार्यपालिका बैठक सुचारु गर्नका लागि सहमतिको वातावरण बनाउन छोडेर मेयर साम्पाङले कार्यपालिका बैठकमा निर्णय नगरी उक्त बैठक बोलाइएका हुन ।

बैठकमा धरान दिवस मनाउने बारे कार्यपालिकामा निर्णय नभएको बारेमा सहभागीले उठाएको प्रश्नमा मेयर साम्पाङले भने "यो कुन (कार्यपालिका) बैठकको निर्णयले बोलाइएको (बैठक) हो भन्ने प्रश्न पनि आयो, यो बजेट अन्तर्गतको कार्यक्रम हो ।" यसअघि उपमहानगरपालिकाले धरान दिवस मनाउन पहिले कार्यपालिका बैठकबाट कार्यक्रमको मिति तथा सैद्धान्तिक रूपरेखा तय गरेर निर्णय गर्दै आएको निवर्तमान मेयर तिलक राईले बताएका छन् । 

मेयर साम्पाङले बैठकमा दुई जना बाहेक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको अनुपस्थितिका बारेमा भने ‘कार्यपालिका बैठकको कुराले तिक्तता बढेर होला निम्ता गर्दा पनि आउनु भएन ।’ कार्यपालिका सदस्यहरूको अनुपस्थितिका कारण कार्यक्रममा मूल समिति नै अनुपस्थित हुने हो कि भन्ने शङ्का उपशङ्का पनि उत्पन्न भएको बताउँदै भने "मूल समितिकै भोलि कोही नआउने हो कि भन्ने शङ्का उपशङ्का पनि हुनसक्छ । तर धरानको स्थापना दिवस सबै धरानेले चाडपर्वको रूपमा मनाउनु पर्ने दिवस हो " उनको भनाई थियो ।

बैठकमा वडाध्यक्षहरू मध्ये धरान-१४ का कृष्ण भट्टराई र वडा ६ का भूपेन्द्र भट्टराई मात्र उपस्थित थिए । क्षमायाचना नगर्ने अडानमा रहेका मेयर साम्पाङले कार्यपालिका बैठक फेरी पनि बोलाउने बताउँदै त्यसलाई स्वीकार गरेर मिलेर काम गर्नु बाहेक वडाध्यक्षहरू सँग अर्को विकल्प नरहेको बताए । आफूलाई धेरैले समन्वयकारी भूमिका गर्नुपर्छ भनी सुझाव सल्लाह दिने गरेको बताउँदै उनले भने 'त्यो मलाई थाहा छ ।'

बैठकको निर्णय र मूल समितिका नामहरू छलफल अघि नै उपमहानगरपालिका कार्यालयबाट कम्प्युटर टाइप गरी तयार गरिएको थियो । बैठकमा उपमहानगरका अधिकृतहरू, पूर्व नगर प्रमुख मनोजकुमार मेयाङबो, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, जनजाति महासघ प्रतिनिधि हेमराज मगर, धरान मगर सङ्घ अध्यक्ष चित्र मगर सहित करिब ३२ जनाको उपस्थिति थियो । बैठकले कार्यक्रम पुष २० ,२१, २२ गते धरान रङ्गशालाको तल्लो भागमा गर्ने निर्णय गरेको छ ।