धरान : खेलकुदको रिपोर्टिङमा युवा पुस्ताका पत्रकारहरूमा दक्षता बढाउन धरानमा तिन दिने खेलकुद तथा आधारभूत पत्रकारिता तालिम आज बुधवार देखी सुरु भएको छ । धरानलाई खेलकुदको सहर भनिँदै आए तापनि खेलकुद रिपोर्टिङको कमी रहेकाले नयाँ पुस्तालाई खेलकुद समाचारमा चासो बढाउन तालिम आयोजना गरिएको हो । प्रसिद्ध फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपले पनि खेलकुद क्षेत्रमा धरानलाई चिनाउँछ । 
होटेल पूर्विस्टारमा आयोजित कार्यक्रम बिच नेपाली काँग्रेस प्रदेश १ का महासचिव उमेश थापाले आज बिहान तालिमको उद्घाटन गरे । उनले भने ‘खेलकुदको सहरको रूपमा चिनिएको धरानलाई नयाँ गतिमा अघि बढाउनुपर्ने जिम्मेवारी लिएको उपमहानगरपालिकामा अहिले गाइजात्रा भइरहेको छ ।’ मतदाताले विश्वास गरी जिताएका नगर प्रमुख हर्क सम्पाङ आफूलाई मात्र जनताले जिताएको जस्तो नवनिर्वाचित वडाध्यक्षहरूलाई अपमानित गरे एकल निर्णयको आधारमा चल्न खोजेपछि गाइजात्रा झैँ भएको उनको भनाई थियो ।
यस्तै अवस्थालाई नगर प्रमुखले बढाउँदै गएमा धरान खेलकुदमा मात्र होइन, सबै कुरामा कति पछाडि धकेलिन्छ भन्ने कल्पना गर्न नसकिने काँग्रेस सुनसरी-१ (ख)का सभापति तथा वडा १६ का अध्यक्ष मुरारी भट्टराईले बताए । यस्तो दुर्भाग्यपूर्ण अवस्थाको जिम्मेवारी नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा र हालका उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतले लिनुपर्ने उनले बताए ।
तालिम मित्र मिलन क्लब, धरान-१२ ले आयोजना गरेको हो । क्लबका संरक्षक काँग्रेसका युवा नेता किशोर राईले गठबन्धनको सहमतिमा चल्दै आएको मुलुक चुनाव पछि नयाँ चरणमा प्रवेश गरेको बताउँदै यसले स्थानिय तह पनि सहमति र समझदारीमा चल्नुको कुनै विकल्प नरहेको ध्यानाकर्षण गराए । मेयर राईले एकल निर्णयमा उपमहानगरपालिकालाई चलाउन खोजे त्यसैले द्वन्द्व बढाउने र अहिले सम्मको विकासमा जनताको सहभागिता र सहमतिलाई बिथोल्ने बाहेक केही नगर्ने बताए ।
उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको कोषको सहयोगमा आयोजित तालिम पुस ८ गते सम्म चल्नेछ । तालिममा आधारभूत पत्रकारिता सत्रमा पत्रकार तथा उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिनेछन् । व्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले खेलकुद रिपोर्टिङ र अनलाइन पत्रकारीताका विषयमा तालिम दिनेछन् । पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइलीले फुटबल खेलको प्राविधिक पक्ष तथा नियमहरूका बारेमा प्रशिक्षण दिने छन् । तालिममा २५ जना सहभागीहरू छन् । 
उद्घाटन सत्रमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले नयाँ पुस्ताका लागि तालिम उपयोगी हुने बताउँदै सामाजिक सञ्जाल मार्फत भइरहेका नागरिक पत्रकारितालाई मर्यादित बनाउन त्यसका प्रयोगकर्ताहरूका लागि पनि आधारभूत पत्रकारिता तालिम आवश्यक भएकोमा जोड दिए । क्लबका अध्यक्ष गोपाल कार्कीको सभापतित्वमा भएको तालिमको सञ्चालन काँग्रेस प्रदेश १ समितिका सदस्य गणेश परियारले गरेका थिए ।
khelkud patrakarita talim 2