• रश्मि प्रधान

धरान : इलाका प्रहरी कार्यालय धरानले एक ट्याम्पो चालकको घरबाट १७ केजी अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उनले चलाउँदै आएको ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेपछि घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । 

गाँजा सहित ट्याम्पो चालक धरान-१३ भृकुटी मार्ग बस्ने ४९ वर्षीय परशुराम गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालयद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख डिएसपी बुद्ध श्रेष्ठले उक्त जानकारी दिएका हुन् । 

प्रहरी अनुसार गएको पुस २४ गते साँझ साढे ७ बजे ट्याम्पो चालक गुरुङलाई धरान-१२ छाता चौक स्थित सार्वजनिक बाटोमा को२ह१८५६ नम्बरको हरियो रङ्गको ट्याम्पो चलाउँदै गर्दाको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेको थियो ।

ट्याम्पोमा गाँजा बरामद गरेपछि उनले घरमा समेत गाँजा राखेको भनी प्रारम्भिक बयान दिएका थिए । बयान अनुसार उनको घर खानतलासी गर्दा १७ किलोग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय प्रमुख श्रेष्ठले बताए । गुरुङलाई हिरासतमा लिई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अर्को घट्नामा मोटरसाइकलमा ५ केजी गाँजा लिएर हिँडिरहेको अवस्थामा धनकुटाका भूमिराज राई र जमनध्वज राईलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले बताए अनुसार उनीहरूलाई गएको माघ ४ गते गाँजा सहित पक्राउ गरिएको हो । 

उक्त दिन बिहान पौने ८ बजे धरान-८ भोटे पुल स्थित सडकमा ट्राफिक चेकिङ भइरहेको बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४६४७ नम्बरको बजाज पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागि सोधपुछ गरिएको थियो ।

चालक धनकुटा सहिदभुमी गाउँपालिका वडा ४ खोकु बस्ने २१ वर्षीय भूमिराज राई र पछाडि बस्ने २१ वर्षीय जमनध्वज राईले बोकेको झोला चेकजाँच गर्दा नियन्त्रित लागु औषध गाँजा ५ वटा पोका फेला परेको प्रमुख श्रेष्ठले बताए । 

उक्त गाँजा तौल गर्दा प्रत्येक पोकामा १ केजीको हिसाबले जम्मा ५ केजी परिमाण भएको हो । प्रहरीले दुवैलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बताएको छ । उनीहरू सवार मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।