सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीको स्पोर्टस् मिट-२०७९ अन्तर्गत नृत्य प्रतियोगिताको उपाधि इटहरीको विश्व आदर्श कलेजले जितेको छ । 
धरान स्थित सियोन स्कुलमा शनिवार सम्पन्न समापन समारोह तथा नृत्य प्रतियोगितामा सहभागी १० वटा शिक्षालयलाई पछि पार्दै विश्व आदर्शले उपाधि जितेको हो । 
प्रतियोगितामा धरान आदर्श माविले द्वितीय स्थान हासिल गरेको छ । यस्तै इटहरीको पूर्वाञ्चल मावि तेस्रो हुँदा धरान मेघा हिमालयन कलेजले सान्त्वना स्थान हासिल गरेको छ । विजयी बिद्यार्थीहरुलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, सल्लाहकार केशव खड्का लगायतले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसैबिच हिसान सुनसरीले यस वर्षको हिसान रत्न सम्मानबाट धरान उच्च माविका संस्थापक तारा बहादुर निरौलालाई सम्मान गरेको छ । समापन समारोहमा निरौलालाई लामो समय देखी सुनसरीको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए । 
माघ ६ गते देखी औपचारिक रूपमा सुरु भएको खेल महोत्सव स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाकताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । यसअघि गत महिना नै ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, वक्तृत्वकला, हाजिरी जवाफ र कविता प्रतियोगिता सम्पन्न भइसकेको भण्डारीले जानकारी दिए । 
यसबर्ष हिसान रन समेत आयोजना गरिएको थियो । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरिका २ हजार २ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएको हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए ।