इटहरी : आइतबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सडक क्षेत्राधिकारमा रहेका संरचनामा डोजर चलाएका छन् । रानी-विराटनगर-इटहरी-धरान सडक आयोजना अन्तरगत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले डोजर चलाएको हो । 
उपमहानगरले ६ नम्बर वडा भित्र रहेका ३४ वटा घर भत्काउन यसअघि नै १५ दिनको सूचना प्रकाशित गरेको थियो । शनिवार सम्म सूचनाको म्याद सकिएकोले आइतबार नै उपमहानगरले डोजर चलाएको हो । 
विराटनगर लाइनका अधिकांश घरहरू यसअघि नै खाली गरिएको छ । ९ नम्बरमा पर्ने सडक क्षेत्राधिकारका घरहरू यसअघि नै खाली भएका हुन् ।  
६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक-पटक ताकेता गर्दा पनि संरचना भत्काउन नमानेपछि उपमहानगर अगाडी बढेको मेयर पौडेलले बताए । स्थानीयको माग र अदालतको आदेश अनुसार मुआब्जाको लागि उपमहानगरले समन्वय गर्ने उनको भनाई छ । 
अदालतले मुआब्जा दिनुपर्ने आदेश गरेपछि इटहरीको मुख्य बजार क्षेत्रको चौरस्ता चोकभन्दा दक्षिणतर्फ झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए । 
इटहरी बजारदेखि उत्तरतर्फ नेपाली सेनाको मुख्यालयसम्म २०-२० मिटर सडक विस्तार भएको छ । तर सडक आयोजनाले फुटपाथ सहित दुवैतर्फ २५-२५ मिटर सडक रहने प्रावधान राखेको छ । जसको लागि स्थानीय सँग छलफल भइरहेको मेयर पौडेलले जानकारी दिए । 
itahari-dozer-mayor