धरान : स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सडक विभागलाई कोसी राजमार्ग धरान बजार बिचबाट लैजान तीनकुने देखी वडा ७ भानुचौक सम्म ७२ फुट बनाउन सकिने पत्राचार गरेको चर्चा चलिरहेको बेला सडक बाइपास लैजान माग गर्दै गठन भएको संयुक्त सङ्घर्ष समितिले आज बुधवार एक अपिल प्रकाशित गरेको छ । 
मेयर साम्पाङले बोल्दा एउटा कुरा गर्ने, काम अर्कै तरिकाले गर्ने गरेकाले संयुक्त सङ्घर्ष समितिले आफ्नो अडान स्पष्ट गर्न अपिल प्रकाशित गरेको वडा १ सङ्घर्ष समितिका सचिव सुमन श्रेष्ठले बताए । कोसी राजमार्गलाई धरान बजारबाट बाइपास गरेर लैजानु पर्ने अडान दोहोर्‍याउँदै वडा ८, ७, २, १२ र वडा १ र १३ सङ्घर्ष समितिले संयुक्त रूपमा अपिल प्रकाशित गरेको हो ।
श्रेष्ठका अनुसार मेयर साम्पाङले वडा १ मा आएर वडा ७, ८ सडक बढाउन सहमत भयो, तपाईँहरू चुप लागेर बस्नु होला भन्ने र वडा ७, ८ का जनतालाई वडा १ र २ सहमत भइसक्यो भन्ने रणनीति अपनाएकोले सबै वडाका सङ्घर्ष समितिहरूले कुनै पनि अवस्थामा राजमार्गलाई बाइपास लैजाने अडान राख्ने निर्णय गरेको हो । 
उनको भनाइले मेयर साम्पाङले उपमहानगरबाट तीनकुने देखी भानुचौक सम्म ७२ फिटे सडक बनाउन सकिने भनी गरेको पत्राचारको ‘काउन्टर’मा संयुक्त सङ्घर्ष समितिको यो अपिल विज्ञप्तिको रूपमा आएको हो । अपिलमा उपमहानगरपालिकाले सडक विभाग सँग गरेको पत्राचारको कुरा भने उल्लेख छैन ।
अपिलमा भनिएको छ, हाल न्यूनतम मापदण्ड कायम गर्ने भनिएको छ । विगतमा नगरपालिकाद्वारा सडक विस्तार गरिरहँदा पनि निश्चित मापदण्ड कायम गरिएको थियो । तत: पश्चात् घर बनाउने अनुमति नगरपालिकाले दिएर नै यस क्षेत्रमा घर निर्माण भएका हुन । आज न्यूनतम भन्दै अर्को मापदण्ड गरिए पनि फेरी केही वर्षपछि राजमार्गको २०४ फुटको मापदण्ड पुग्छ नै । यसमा कुनै दुई मत छैन । यो बाटो कोसी राजमार्ग कायम नभएको अहिलेको अवस्थामा हाल न्यूनतम मापदण्ड भन्दै सडक निर्माण सुरु गरेर राजमार्ग कायम गर्ने षडयन्त्र मात्र हो भन्ने बुझ्न आग्रह गर्दछौँ ।
एक पटक बाइपास लानुपर्छ भनेर निर्णय भैसकेको यो राजमार्ग फेरी कुन नियत र कसको इशारामा यहीँबाट लानुपर्छ भन्ने सोचको विकाश किन भइरहेको छ ? यसप्रति हामी सबै सचेत हुन आवश्यक छ। स्थानीय तहले राजश्व प्राप्त गर्दै आएको भौतिक संरचना विनाश गरेर, व्यवसाय विस्थापित गरेर राजमार्ग यहीबाट लैजानु आर्थिक दृष्टिकोणले पनि उपयुक्त हुँदैन, भनी विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ, अहिले धरानको भूभाग सेउती र सर्दु खोलाको बिचमा मात्र सीमित छैन । साबिक पाँचकन्या, विष्णुपादुका गाविसको भूभाग समेत धरान नगरभित्र पर्दछ । यस अर्थमा समग्र धरानको विकाशलाई ध्यान दिन आवश्यक हुन्छ । हाल निर्माणाधीन सडकलाई बाइपास गर्दा धरानको विकाशमा सकारात्मक प्रभाव पार्छ ।
अपिलको पूर्ण पाठ यस्तो छ :
sangharsha-samiti-ko-apilSangarsha-Apil-2