धरान : धरानको पहिलो बास्केटबलको राष्ट्रिय प्रतियोगिताको सातौँ संस्करण फागुन २१ गते देखी सञ्चालन हुने निश्चित भएको छ । राष्ट्रिय हराइजन टुबोर्ग रनिङ कप बास्केटबल आयोजक हराइजन क्लब, धरानले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । २०६९ साल देशी सुरु भएको हराइजन रनिङकप काठमान्डु उपत्यका बाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो ।
गत वर्ष भएको छैटौँ रनिङकपको साबिक विजेता टाइम्स क्लब, काठमान्डु सहित यसपालि प्रतियोगितामा पहिलो पटक विभागीय टिम नेपाल पुलिस क्लब, काठमान्डु पनि बास्केटबल मैदानमा उत्रिने भएको छ । साबिक उपविजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब, काठमान्डु सहित सातौँ प्रतियोगितामा ८ टिम सहभागी हुँदैछन् ।
सहभागी टिमहरूमा पहिलो पटक मधेस प्रदेश टिम र मोरङ बास्केटबल सङ्घ, झापा बास्केटबल सङ्घ, होलिल्याण्ड धरान र आयोजक हराइजन बास्केटबल प्रतियोगिताको मैदानमा उत्रिने भएका छन् । क्लबका अध्यक्ष श्रीभक्त राईले यसपालि गण्डकी प्रदेश, पोखराबाट पनि प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएकोमा उनीहरू आउन नसक्ने जानकारी प्राप्त भएको बताए । 
काठमान्डु उपत्यका पछि बास्केटबलको उर्वर भूमि धरान भएको बताउँदै हराइजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय प्रतियोगिता राष्ट्रिय टिमहरूका लागि आकर्षणको विषय बन्दै गएको उनको भनाई छ । उनले भने ‘बास्केटबल क्लब भएको सबै प्रदेशका टिमहरू प्रतियोगितामा सहभागी गराउने हाम्रो प्रयास थियो ।’
प्रतियोगीताका विजेता टिमलाई १ लाख, ११ हजार १११ रुपया नगद पुरस्कार सहित रनिङ शिल्ड प्रदान गरिने छ । उपविजेता टिमले ५५ हजार, ५५५ रुपया नगद पुरस्कार सहित ट्रफि पाउने छ । प्रतियोगीताका उत्कृष्ट खोलाडिहरुलाई व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने बताइएको छ । उक्त पुरस्कार रकम अहिले सम्मका बास्केटबल प्रतियोगिताको ठुलो हो ।
क्लबका निवर्तमान अध्यक्ष वसन्त राईले हराइजन बास्केटबल नेपालको बास्केटबल क्षेत्रमा प्रतिष्ठाको विषय बनेको बताए । उनले भने ‘यो प्रतियोगिताको आयोजनले धरानलाई खेलकुद पर्यटनको गन्तव्य बनाउन सहयोग पुर्‍याउँदै आएको छ ।’ साथै धरानको बास्केटबल क्षेत्रमा नयाँ राष्ट्रिय खेलाडी तयार गर्ने कार्यमा योगदान गर्दै आएको राईले बताए ।
प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिकाले गर्दै आएको छ । मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको प्रतियोगीतालाई धरान सत्र समाज, हङकङ, सेन्ट जोसेफ इङ्लिस स्कुल, धरान, एम्स एकेडेमी स्कुल, धरानले सह प्रायोजन गरेको छ । प्रतियोगीतालाई प्राविधिक सहयोग नेपाल बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घले गरेको छ । धरान युके समाज, बहराइन धरान समाज, मुनसाइन अनलाइन लिकर, मिलन कोयी एण्ड फ्रेण्डस हङकङको विशेष सहयोग रहको बताइएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक हराइजन क्लब र झापा बास्केटबल सङ्घ बिच हुने पत्रकार सम्मेलनमा जारी टाइसिटमा उल्लेख छ । फागुन २७ गते हुने फाइनल सहित सबै खेलहरू धरान-१७ श्री घोपा मावि परिसर स्थित हराइजन बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगिता सञ्चालनमा कुल खर्च ८ लाख, ८६ हजार, ६६६ रुपया लाग्ने तथा सहयोग आम्दानी ११ लाख, ४० हजार रुपया सङ्कलन हुने अनुमान गरिएको छ ।