इटहरी  जनता बहुमुखी क्याम्पस इटहरीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सङ्घका सहदेव काफ्ले भारी मतान्तरका साथ विजयी भएका छन् ।
आइतबार राती सम्पन्न मतगणना अनुसार काफ्लेले निकटतम प्रतिद्वन्द्वी भन्दा ६१६ मत बढी ल्याएका हुन् । 
नेबिसंघ इकाई सभापति समेत रहेका काफ्लेले १२९८ मत प्राप्त गर्दा अनेरास्ववियुका उज्ज्वल सिग्देलले ६८२ मत पाए  । जनता क्याम्पसमा अनेरास्ववियुले अखिल (क्रान्तिकारी) सँग र नेबिसंघले समाजवादी विद्यार्थी युनियन सँग तालमेल गरेका थिए ।
८ सदस्य र ३ पदाधिकारी मध्ये नेविसंघ नेतृत्वको प्यानल कोषाध्यक्ष र एक जना सदस्य बाहेक सम्पूर्ण पदमा विजयी भएको छ । सचिवमा समाजवादीका अर्जुन राई कोषाध्यक्षमा अनेरास्ववियुका हेमराज खड्का विजयी भए । 
सदस्यमा  केवल लुइँटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, लक्ष्मण लिम्बू, सुदिप खतिवडा, मनिस चौलागाईं र सुशान्त पुरी निर्वाचित भएका छन् । चौलागाईं अनेरास्ववियु नेतृत्वको गठबन्धनका उम्मेदवार हुन् ।