धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ नेतृत्वको प्यानल विजयी भएको छ । नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) बिचको भएको चुनावी तालमेलले सफलता पाएको हो । 
महेन्द्र बहुमुखी क्याम्पस धरानमा भने समाजवादी विद्यार्थी युनियनले सभापति सहित कोषाध्यक्ष र एक जना सदस्य जितेको छ । समाजवादीबाट सभापतिका उम्मेदवार युवराज राईले ८२४ मत प्राप्त गर्दा नेबिसंघका विनोद आले मगरले ७२४ मत पाए । 
सचिवमा नेबिसंघका सनिक श्रेष्ठ मल्ल र अन्य सदस्यमा पनि नेबिसंघ हाबी छ ।  कोषाध्यक्षमा समाजवादीकी सुप्रीया राई विजय भइन । सदस्यमा नेबिसंघको तर्फबाट नितेश राई, शुभराज राइ, आलोक लिम्बु, मन्दिप पराजुली, हस्तकला राई , शुक्रराज इजम र रविन तिवारी विजय भए । बाकी एक सदस्यमा समाजवादीका प्रकाश राई निर्वाचित भएका छन् । 
अध्यक्षमा नेविसंघका अभिनव गुरागाईँ ४७५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रतीक ओझाले २७० मत पाए । सचिवमा क्रान्तिकारीका भगवान् थापा र कोषाध्यक्षमा सीमा आले मगर विजयी भएका छन् । 
सदस्यमा पनि नेविसंघ क्रान्तिकारीकै उम्मेदवार विजयी भए । नेविसंघबाट उम्मेदवारी दिएका हुकुम भुजेल, वर्षा गुरुङ, सुजल भट्टराई, विप्सल मुखिया विजयी भएका छन् । क्रान्तिकारीबाट सदस्यमा उत्सव पोखरेल, तुजीन राई र सविन घिमिरे विजयी भएका हुन् । 
यस सँगै सुनसरीका ७ वटै क्याम्पसको स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेविसंघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा नेतृत्व गरेको छ । हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ र जनता बहुमुखीमा नेविसंघ विजयी भएको हो । 
जनता समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी धरान र सुनसरी बहुमुखी इनरुवामा विजय हासिल गरेको छ । एमाले निकट अनेरास्ववियुले सप्तकोसी बहुमुखी क्याम्पस वराहक्षेत्र र पिण्डेश्वर विद्यापीठमा नेतृत्व गर्ने अवसर पाएको छ ।