इटहरी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही क्याम्पसमा निर्वाचन मिति प्रभावित हुँदा परिणाम आउन सकेको छैन । अधिकांश क्याम्पसको नतिजा सार्वजनिक भइरहँदा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ बिच कडा प्रतिस्पर्धा देखिएको छ । 
प्रदेश १ का महत्त्वपूर्ण मानिएका क्याम्पसको परिणामले दलीय सङ्गठन प्रतिको विद्यार्थीको आस्था र विश्वासलाई दर्साएको छ । समग्रमा ५० प्रतिशतको हाराहारीमा मात्र मतदान हुँदा विद्यार्थी राजनीति प्रति आकर्षण कम हुँदै गएको पाइन्छ । 
तथापि कतिपय क्याम्पसको मत परिणामले उम्मेदवारको आकर्षण महत्त्वपूर्ण रहेको दर्साएको छ । सङ्गठन सँगै  उम्मेदवार स्वयम् लोकप्रिय हुँदा भारी मतान्तरले विजयी भएका छन् । कोसी प्रदेशमा सबैभन्दा बढी मतान्तरले विजयी हुने स्ववियु सभापति हुन् महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका जसवन्त पौडेल । 
नेपाल विद्यार्थी सङ्घका इकाई सभापति समेत रहेका पौडेल निकटतम प्रतिद्वन्द्वी भन्दा ९०५ मत बढी ल्याएर विजयी भए । पौडेलले १ हजार ६ सय ८९ मत ल्याउँदा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का रोहित यादवले ७ सय ८४ मत पाए । सचिवमा भने एमाले निकट अनेरास्ववियुकी सनिम ठकुरी र कोषाध्यक्षमा नेविसंघकै पूजा विश्वास विजयी भए । बाकी सदस्यमा नेविसंघले प्यानलै विजयी गरेको छ । महेन्द्र मोरङमा ५ हजार ८ सय २५ मतदातामध्ये ३ हजार १ सय ६६ मत खसेको थियो ।
भारी मतान्तरले विजयी गर्ने अर्का सभापति हुन मोरङकै सन्तोष लिम्बु । सुकुना बहुमुखी क्याम्पसका उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार भएका हुन् । उनले एमाले निकट अनेरास्ववियुका उम्मेदवार मनोज कार्कीलाई ७ सय २५ मतान्तरले पराजित गरे । लिम्बूले १ हजार ३ सय ८२ मत ल्याउँदा कार्कीले ६ सय ५७ मत पाए । 
लिम्बूले यस अघि अनेरास्ववियुबाट स्ववियुको सभापति पदमा विजय हासिल गरेका थिए । यस पटक एमालेको भातृ सङ्गठन अनेरास्ववियु एक्लै चुनावी मैदानमा होमिएको हो । सुकुनामा लिम्बु नेतृत्वको अनेरास्ववियू सहित नेविसंघ, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (क्रान्तिकारी) लगायतले गठबन्धन गरेका थिए ।  
झापाको कनकाई आदर्श क्याम्पस बिर्तामोडमा पनि नेविसंघले भारी मतान्तर कायम राखेको छ । नेविसंघको प्रभावशाली क्याम्पस मानिएको कनकाईमा सभापतिका उम्मेदवार किरण गुरुङले ६४१ मतान्तरले विजय हासिल गरेका हुन् । उनी सँगै नेविसंघको प्यानलै विजयी भएको छ । 
गुरुङका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका गणेश न्यौपाने (पुकार)ले १२४ मत प्राप्त गर्दा गुरुङले ७६५ मत पाएका हुन् । कुल १८ सय मतदाता मध्ये ९६९ विद्यार्थीले मतदानमा सहभागिता जनाएका थिए ।  
सुनसरीको जनता बहुमुखी क्याम्पसको सभापतिमा विजयी सहदेव काफ्लेले निकटतम प्रतिद्धन्द्धीले प्राप्त गरेको मत भन्दा झन्डै डबल मतान्तरले विजयी भए । नेपाल विद्यार्थी सङ्घको इकाई सभापति समेत रहेका काफ्लेले ६१६ मतान्तरले विजयी भएका हुन् । 
कुल २४२४ खसेको मत मध्ये काफ्लेले १२९८ मत प्राप्त गर्दा अनेरास्ववियुका उज्ज्वल सिग्देलले ६८२ मत पाए । अनेरास्ववियुले अखिल (क्रान्तिकारी) सँग र नेबिसंघले समाजवादी विद्यार्थी युनियन सँग तालमेल गरेका थिए ।