इटहरी : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने गिरोहमा संलग्न इटहरीका अशोक पोखरेल अझैसम्म पक्राउ परेका छैनन् । उच्च पदस्थ अधिकारी तथा बहालवाला सचिव पक्राउ परिसकेको अवस्थामा उनी अझै फरार छन् ।

इटहरीको एपेक्स हस्पिटलका पूर्व सञ्चालक पोखरेल नक्कली शरणार्थी गिरोहको सदस्य हुन् । पोखरेलले पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी नाममा चेक काटेका थिए ।

पोखरेलले नबिल बैङ्कमा रहेको खाताको चेकबाट २०७६ जेठ १९ सन्दीपका नाममा डेढ करोडको चेक काटेको खुलेको छ । पूर्व मन्त्री रायमाझीले पोखरेल सँग लामो समय देखी सम्बन्ध रहेको विभिन्न विषयमा सहयोग गरेको बताइसकेका छन् ।

पोखरेल हाल अमेरिका बस्दै आएका छन् । ऊनी बाहेक तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत बहालवाला सचिव टेकनारायण पाण्डे बुधवार पक्राउ परेका छन् ।

तत्कालीन ऊर्जा मन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनका छोरा सन्दीपलाई बुधवार नै ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । एमाले सचिव रायमाझीको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सँगको भेटमा ओलीले यहीँ विषयमा सचेत गराएको पाइएको छ ।

गिरोहका थप सदस्यहरू केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन्  । अमेरिका पुर्‍याउने भन्दै झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाबाट रकम सङ्कलन गरी ८७५ को नक्कली शरणार्थी सूची बनाइएको थियो ।