धरान : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले आज सोमवार धरान-१४ विजयपुर स्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । चालिस वर्ष अघि देखी सञ्चालन हुँदै आएको उक्त माविमा अहिले सम्म एउटै शिक्षकको दरबन्दी सरकारले दिएको छैन ।
भोजन सहितको आवासीय माविको रूपमा सञ्चालन हुँदै आएको उक्त विद्यालयमा हाल ५५ विद्यार्थी छन् । कोरोना महामारी अघि विद्यार्थी सङ्ख्या ६५ थियो । बाहिरका जिल्लाबाट समेत विद्यार्थी आउने माविमा गुरुकुल शिक्षा सहित कक्षा १२ सम्मको पठन पाठन हुन्छ ।
शिक्षा मन्त्री राईको आगमनको अवसरमा मावि सञ्चालन गर्दै आएको संस्कृत विद्या सम्बद्र्धनी समितिले विद्यालयलाई शिक्षक दरबन्दी र दुई सय विद्यार्थी क्षमताको छात्रावास भवन निर्माणका लागि सरकारसँग माग गरेको छ ।
संस्कृत शिक्षाको संवर्द्धनका लागि २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईले उक्त मावि स्थापना गरेका हुन । सम्बद्र्धनी समितिका सचिव प्रा.डा चन्द्रमणि नेपालले भने ‘पुरुषोत्तम गुरुले चालिस वर्ष अघि घर घर पुगेर सहयोग सङ्कलन गरी एक लाख रुपैंया पुर्याएपछि विद्यालय सुरु गरेका थिए ।’

विद्यालयले सहयोगकै भरमा जग्गा खरिद गरी भौतिक पूर्वाधारको निर्माण र विकास गरे पनि अहिले सम्म एउटै शिक्षक दरबन्दी समेत सरकारबाट नपाएको गुनासो सञ्चालक समितिका अध्यक्ष पवन अग्रवालले प्रकट गरे ।
सोही अवसरका विजयपुर स्थित पञ्चायत दन्तकाली माविमा प्लस टु कक्षाका लागि भौतिक पूर्वाधार विकासका लागि १ करोड ५० लाख रुपयाको प्रस्ताव मन्त्री राईलाई बुझाएको छ । प्रधानाध्यापक सिताराम कोइरालाले ८ कोठे नयाँ भवन निर्माणको उक्त योजना आर्थिक वर्ष २०८०/८१ को सङ्घीय बजेटमा समावेश गरिदिन अनुरोध गरे । उक्त मावि २०१४ सालमा स्थापना भएको हो ।
मन्त्री राई समक्ष कार्यक्रममा पिण्डेश्वर विद्यापीठका प्राचार्यले ३ करोड लागत स्टमेटको छात्रावास भवन निर्माणको लागि योजना २०८०/०८१ को बजेटमा समावेश गराउन मानपत्र प्रस्तुत गरेका छन् । पिण्डेश्वर विद्यापीठ संस्कृत विश्वविद्यालय अघि स्थापना भएको हो।
विजयपुर स्थिति शैक्षिक संस्थाहरू संस्कृत शिक्षाको क्षेत्रमा ऐतिहासिक केन्द्र भएता पनि भौतिक पूर्वाधारको विकासमा पछि पर्दै आएकोमा वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले मन्त्री राईको ध्यानाकर्षण गराए ।
मन्त्री राईले आफ्नै क्षेत्रको प्रतिनिधि मन्त्रीको जिम्मेवारीका रहेको बेला ठुलो अपेक्षा राखिनु अस्वाभाविक नभएको बताउँदै ‘सबै काम एकै साथ पुरा गर्न नसके तापनि सक्दो काम पुरा गर्ने प्रतिबद्धता’ व्यक्त गरे । उनले भने ‘म धेरै कुरा गर्दिन तर काम गरेर देखाउँछु, काम गर्नेले धेरै कुरा बोल्नु हुन्न ।’
उनले विजयपुरका शैक्षिक संस्थाहरू जनसहयोग जुटाएर बडो मिहिनेतले स्थापना गरिएको कुराबाट आफू प्रभावित भएको बताए । कार्यक्रममा सङ्घीय सांसद सुशीला श्रेष्ठको पनि उपस्थिति थियो ।








































































